खेलकुद

लिगमा आज शीर्ष टोलीको घमासान

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशाला र च्यासल मैदानमा हुने खेलमा लिगको शीर्ष भागमा रहेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

दिउँसो ३ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । पछिल्लो ४ खेलमा लगातार जित दर्ता गरेको चर्च ब्वाइज शीर्ष स्थानमा उक्लन चाहन्छ । जावलाखेलसँग समान अंक रहेपनि हेड टु हेडमा पछि परेको चर्च ब्वाइजका लागि अन्जन विष्ट र अनन्त तामाङ चोटबाट फर्कनु सुखद बनेको छ । दुवैले एकसाथ खेलेको खेलमा चर्च ब्वाइज अपराजित छ ।

पहिलो लेगमा आर्मीसँग १-० ले हारेयता चर्च ब्वाइजले लिगमा लगातार जित हासिल गरेको छ । आजको खेलमा आर्मीका तीन खेलाडी प्रतिबन्धमा रहनेछन्। तीन पहेंलो कार्डका कारण कप्तान भरत खवास, डिफेन्डर विमल पाण्डे र विंगर सुदिल राई उपस्थित हुने छैनन् । आर्मी यसैपनि पछिल्लो ४ खेलमा जितविहिन छ ।

दिउँसो ३ बजे नै मच्छिन्द्र क्लब र थ्री स्टार क्लब च्यासल मैदानमा खेल्नेछन् । पछिल्लो ५ खेलमा जित निकाल्न नसकेको थ्री स्टारले पटक पटक शीर्षस्थानमा जाने अवसर गुमाएको छ । आजको खेलमा मच्छिन्द्रलाई थ्री स्टारभन्दा माथि उक्लने अवसर पनि छ । यद्यपि चोटका कारण मुख्य खेलाडी नहुँदा टोलीलाई समस्या पर्न सक्छ ।

चर्च ब्वाइजविरुद्ध टोलीको डिफेन्स कमजोर हुँदा मच्छिन्द्र हार बेहोर्न पुगेको थियो । गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठको फिटनेस महत्त्वपूर्ण हुने देखिन्छ । यता थ्री स्टारका कप्तान विक्रम लामा पनि पछिल्लो खेलपछि बिरामी भएकाले शत प्रतिशत नहुन सक्छन् । पहिलो लेगमा यी दुई टोलीको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

साँझ ६ बजे दशरथ रंगशालामा नेपाल एपिएफ फुटबल क्लब र सातदोबाटो युवा क्लबबीच खेल हुनेछ । यस खेलमा जित हासिल गर्ने टोलीले शीर्ष ४ मा उक्लने अवसर छ । एपिएफले पछिल्लो ५ मध्य २ खेलमा जित हासिल गरेको छ भने सातदोबाटो पछिल्लो ४ खेलमा जितविहिन छ ।

पहिलो लेगमा सातदोबाटोले १-० को जित दर्ता गरेको थियो । विलियम ओपोकुले सेन्टरबाट गोल गर्दै जित दिलाएका थिए । एपिएफले पछिल्लो खेलमा आर्मीलाई ३-० ले हराउनुअघि लगातार ३ खेल जित्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button