मूल खबर

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क!

मृत्यु भएको भनिएका सुरज कार्की ।

गोरखापत्र अनलाइन
लीलाराज खड्का

बिर्तामोड  । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।

कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार ग¥यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई–४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए। सुरजका कान्छा काका किरियामा बस्नुभयो।

आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुग्नुभयो। मङ्गलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुग्नुभएको थियो। सुरजले भन्नुभयो, “म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो। खुसीले कोही रुने, कोही कराउने गर्न थाले।”

गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उहाँको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताउनुभयो। दाइ सुरज विगत तीन वर्षदेखि घर छाडेर हिँडेको र कोटीहोम क्षेत्रमै बस्ने गरेको थाहा पाएको बताउँदै विनाले भन्नुभयो, “कोटीहोममा मानिस मरेको सुनियो। शवगृहमा हेर्दा दाइको जस्तै खुट्टा लामो देख्यौँ। अनुहार सुन्निएकोले चिन्न सकिएन। दाइ नै हो भन्ने ठम्याएर शव बुझेर ल्यायौँ र संस्कार ग¥यौँ।” दाजुको मृत्यु भएको खबर सुनेर कुवेतमा रहेका भाइसमेत स्वदेश फर्किएर आएको बहिनी विनाले बताउनुभयो। सुरज मादक पदार्थ सेवन गर्ने भएकाले आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालमा देख्दा पनि फोन सम्पर्क नगरी भोलिपल्ट मात्र घर पुग्नुभएको परिवारजनले बताएका छन्।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर मिश्रले आफन्तले पनि सबै कुरा बुझेर मात्रै शव जिम्मा लिनुपर्नेमा त्यस्तो नगरिदिँदा समस्या आएको बताउनुभयो। “दाइ हराएको भनेर इलाका प्रहरी कार्यालयमा बहिनी विनालगायतको समूह आएको थियो। हामीले बिर्तामोड इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस् भनेर पठाइदिएका थियौँ। सद्गत गरेपछि मृतक भनिएका व्यक्ति घर आइपुगेछन्,” उहाँले भन्नुभयो, “त्यो शव वास्तवमा कसको थियो भन्ने खोजी गर्नुपर्ने भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button