खेलकुद

लगातार दोस्रो जितको सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो महिला टि२० आई खेलमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८: ४५ मा सुरु हुनेछ। पाँच खेलको महिला टि२० आई सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।

नेपाल लगातार दोस्रो जितका साथ सिरिजमा अग्रता लिन चाहन्छ । नेपालले काजोल श्रेष्ठ र ज्योति पाण्डे मध्य एकलाई बेन्चमा राखेर अप्सरी बेगमलाई मौका दिनसक्छ । काजोल र ज्योति दुबै ओपनर भएपनि दोस्रो खेलमा ब्याटिङको अवसर पाएका थिएनन् । ओपनरमा नेपालले कविता कुँवर र सीता रानामगरलाई गराएको थियो । कविताले २६ र सीताले २३ रन जोडेकी थिइन् । त्यसैले यी जोडीलाई नै निरन्तरता दिने देखिन्छ ।

टोलीमा अन्य परिवर्तनको सम्भावना भने छैन । मध्यक्रममा इन्दु बर्मा, सम्झना खड्का र रुविना क्षेत्री बेलबासे हुनेछन् । रुविनाले दोस्रो खेलमा २९ रन जोडेकी थिइन् । सीता र रुविना टोलीका प्रमुख ब्याटर हुन् । बलरमा अश्मिना कर्माचार्य र कविता कुँवर हुनेछन् ।

उता मलेसिया तीव्र गतिकी बलर ऐश्या एलिसाले लगातार राम्रो गर्दै आएकी छिन् । कप्तान मास एलिसाले पछिल्लो खेलमा नेपालविरुद्ध सर्वाधिक २८ रन जोडेकी थिइन् । एलिसा, वान जुलिया र विनीफ्रेन्ड मलेसिया प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा अल आउट गर्न सके नेपाल खेलमा हाबी हुनसक्छ ।

नेपाल र मलेसियाबीच कुल ५ महिला टि२० आई खेल भएका छन् । नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button