
जनप्रतिनिधिको तर्फबाट पत्रकार सम्मेलन
आदरणीय पत्रकार महोदय, जनप्रतिनिधिज्यूहरु, कर्मचारी तथा उपस्थित महानुभाव सबैमा शितल अभिवादन
एवम् नमस्कार ः
विषेश लामो सङघर्ष पछाडी जनताले पाएको गणतन्त्रको अभ्यासमा उभिएर हामी जनप्रतिनिधिहरु जनसेवामा निस्वार्थ उभिएका छौ । सुरुमा हामीलाई लाग्थ्यो जनप्रतिनिधिको भुमिका मार्फत एक असल र विकसित समाजको निर्माण गर्न सकिन्थ्यो तर केही कर्मचारीहरुको व्यक्तिगत स्वार्थ र भाँजोको कारण सम्पन्न भई सकेका योजनाहरुको समेत रकम भुक्तानी गर्न आज सम्म आनीकानी गरिरहेको हुदाँ कर्मचारीहरुले आम नगरबासीहरुको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई नै विवादमा ल्याई उपभोक्ता तथा जनप्रतिनिधिलाई समेत पटक पटक कार्य सम्पादनमा वेवस्ता गरि आजसम्म विगत ५ महिनादेखिको भुक्तानी रोकिएको कारण खोज्दै आज हामी नगरपालिकाको गेटमा पत्रकार सम्मेलन गर्न बाध्य भएका छौ । हामीसँग केही प्रश्नहरु छन् । जसको उत्तर दुई दिन भित्रमा लिन चहान्छौ ।
प्रश्न नं. १) नगरपालिका विधिले चल्छ कि व्यक्तिले ? यदि विधिले चल्ने भए आज भन्दा ५ वर्ष अगाडीदेखि लाग्दै आएको खोला ठेक्का हाम्रो उपस्थिती पश्चात किन लाग्न सकेन ? विगतमा कुन कानुनले स्टक गरिएका गिटी ढुङ्गा प्रमाणित गरि उठाउन दिइयो र हाम्रो उपस्थिती भई सकेपछि कुन कानुनले रोक्यो विगतको फाइल हेर्न चाहान्छौ ? हाम्रो बुझाईमा प्रशासकीय प्रमुख बाहेक अन्य कर्मचारीहरु ऐ ऐ ठाउँमा बसेर कार्य सम्पादन गर्दा कार्यपालिका सदस्यहरु तथा प्रशासकीय प्रमुखबाट कहाँ कानुनी वाधा अड्र्चन देखा प¥यो ? हामी विगत ५ वर्ष अगाडीको ठेक्का प्रक्रियालाई फर्केर हेर्न चाहान्छौ ? उ बेला कसरी लाग्यो हाम्रो उपस्थिती पछाडी किन लागेन ?
प्रश्न नं. २) स्वास्थ्य जस्तो मानवीय संवेदनशील विषयमा औधषी लगायत खरिद प्रक्रियामा कार्य सम्पादन ढिलासुस्तीको कारण जनतामा पर्न गएको मानवीय क्षतिको जवाफदेही कर्मचारी बन्ने की जनप्रतिनिधि बन्ने ? कानुनी रुपमा जनप्रतिनिधिहरुले कहाँ अवरोध गरेको छ ? हामी जवाफ लिन चाहान्छौ ।
प्रश्न नं. ३) विपत व्यवस्थापनका लागी अति आवश्यक तारजाली लगायतका हरेक खरिद प्रक्रिया कुन कानुनले रोकेर खरिद गर्न सकिएन ? जसको कारणबाट जनताको धनजनको क्षतिको जिम्मेवारी कुन पक्षले लिने ? यसमा पनि विगतको अभ्यासलाई हामी हेर्न चाहान्छौ ।
प्रश्न नं. ४) वडाले छुट्याएको बजेट अनुसारको योजना सम्पन्न भएको छ महिना वित्दा पनि सत्तरी वर्ष नाघेका किसान समुहलाई अनावश्यक कागजात खोजी झन्झट दिने २० चोटी धाउँदा समेत आजसम्म अघिल्लो आर्थिक वर्षको भुक्तानी पाउन किसान लगायत अन्य उपभोक्ता समितिले कुन कानुनी परिधी नपुगेर आजसम्म भुक्तानी पाउन सकेनन् ? यसले किसान तथा सर्वसाधारणलाई पर्न गएको असाधारण क्षतिको जवाफदेही को हो ?
प्रश्न नं. ५) कर्मचारीहरुको तलबलाई लिएर बखडा झिकी सबै वडाहरुको काम तथा सिङ्गो नगरको विकास निर्माणका कामलाई अवरोध गरि जनप्रतिनिधिहरुलाई जनताको नजरबाट गिराउने काम किन गरियो ? स्थायी कर्मचारीहरुको महिना बितेको ३ दिनमा तलब भत्ता प्राप्त हुने तर दिन रात नभनी खटिरहेको अस्थायी तथा करार कर्मचारीहरुको ज्याला÷तलब भुक्तानीमा वेवास्था गर्नुको कारण के हो ? के उनीहरुको घर व्यवहार
लथालिङ्ग बनाउन जिम्मेवार अभिप्रेरित भएको हो त ? उनीहरुको पनि हाम्रो जस्तै घर व्यवहार र समस्याहरु अनेक छन् भन्ने अलिकति पनि संवेदनशील नहुनुको कारण के हो?
प्रश्न नं. ६) कर्मचारीहरुको अपारदर्शी व्यवहार, कर्मचारी वित्त भित्र हुर्किदै गएको कुसंस्कार र लापरवाहीले कर्मचारी बीचमै ठूलो खाल्डो विस्तारै दल दलमा परिणत हुदै गएको अवस्थामा हामी जनप्रतिनिधिहरु त्यही दल दलमा भ्यागुता भएर नबस्ने त्यही दलदल भित्रबाट कमल फुलको कोमल सौदर्यता खोज्न यो पत्रकार सम्मेलन गरिएको हुदाँ उल्लेखित बुदाँहरुका जवाफ ४८ घण्टा भित्रमा नआए, जसजसले जुन–जुन जिम्मेवारीमा
बसेर जनतालाई दुःख दिने जनप्रतिनिधिलाई असफल बनाउने दुस्सहास गरेको छ उसउसले नै भई परि आउनेदिनहरुमा १ लाख ४० हजार मतदाताहरुको तर्फबाट हुने जस्तोसुकै सजाय भोग्न पनि तयार हुन अनुरोध छ ।
प्रश्न नं. ७) कर्मचारीहरु भित्र भएको भुसको आगोले जनताको अधिकारलाई डढेलो लगाउने दुस्प्रयासहरु किन भइरहेका छन् ? यसका कुन कुन जनप्रतिनिधिहरुको कहाँ कहाँ कमजोर गरेका छन्, सत्यतथ्य बाहिर ल्याउन कसले कहाँ अवरोध गरेको छ ?
प्रश्न नं. ८) पटक पटक कानुनी कुरा उठाएर लेखा शाखा ताला लगाई व्यक्तिगत घर जस्तो कार्यालय किन बनाइन्छ ? यसले जनतालाई पर्न गएको क्षतिको जवाफदेही को हो ? यदी जनप्रतिनिधिहरुले कानुन मिचेर कुनै कार्यको सम्पादन गरी सिङ्गो नगरलाई नै बदनाम गराएको भए विगत ५ वर्षको अभ्यास र दोश्रो कार्यकालका जनप्रतिनिधिहरुको निर्णयको कहाँ कानुनी तुक मिलेन हामी खुल्ला रुपमा जान्न चाहान्छौ ।
अन्त्यमा, फेरी पनि यसको जवाफ ४८ घण्टामा नआए कसको कारणले जनताको काममा अवरोध भएको हो, जनता समक्ष पु¥याई जनकारवाही गर्ने चेतावनी समेत दिन चाहान्छौ । पुनः उपस्थित पत्रकारज्यूहरुले अझ गहिराईमा पुगेर यस मेचीनगर नगरपालिकाको खराब गतिविधिलाई सार्वजानिक गर्दै जनता समक्ष सुसुचित गर्नका लागि उपस्थित हुनु भएका सम्पूर्ण पत्रकार महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौ साथै यस पत्रकार सम्मेलनलाई चासोको साथ बुझ्नको निम्ति पाल्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दछौ ।
२०८० भाद्र १८ गते
भवदीय
वडा अध्यक्ष
अर्जुन कुमार कार्की
मेचीनगर–४ लगायत
उल्लेखित कार्यले विकास निर्माणमा अवरोध पुगेका
असन्तुष्ट जनप्रतिनिधि एवम् सिङ्गो नगरवासी
मेचीनगर नगरपालिका, इटाभट्टा, झापा



