मूल खबर

टिप्परको मनोमानीको कारक डिपो

केशब राज पौडेल
काठमाडौँ । टिप्परले ढाला थपेर क्षमताभन्दा बढी बालुवा र गिट्टी ढुवानी गर्नुपर्ने अवस्थाका लागि आमउपभोक्ता नभएर त्यसको बिचौलिया वर्गमा पर्ने डिपोहरू कारक रहेका छन् । डालाभरि सामान ल्याउन नसके बिक्री नै नहुने भएकाले ओभरलोड बोक्नु बाध्यता रहेको टिप्परचालक बताउँछन् ।

सधैँभरि सिधै उपभोक्ताले सामान नलिने हुँदा उनीहरूले डिपोमा लगेर बेच्नै पर्ने बाध्यता हुन्छ । डिपोले सरकारले तोकेसरह सामान लिएर जाँदा नउठाउने भएपछि बाध्य भएर ओभरलोड बोकेको स्वयम् टिप्परचालक बताउँछन् ।

लामो समयदेखि टिप्परचालक रहनुभएका राम थापाले भन्नुभयो, “प्रहरीलाई पैसा दिएपछि सहज हुने भएर बाध्यताले पैसा बुझाउनु पर्छ ।” ओभरलोडको कटिङ गर्न पाउँदा आफूलाई पनि केही मुनाफा हुने भएकाले प्रहरी प्रशासनसँग मिलोमतो गर्न बाध्य भएको थापाले स्वीकार गर्नुभयो । उहाँले लेनदेन नहुने र प्रहरी कडा हुने हो भने लेनदेनको विषय नै समाप्त हुने उल्लेख गर्नुभयो ।

काठमाडौँ उपत्यका आसपासका जिल्लामा पछिल्लो समय असहज भए पनि लुम्बिनी, कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश जिल्लामा भने निकै सहज भएको र दिउँसो पनि टिप्पर चलाउन पाउने थापाको दाबी छ । टिप्परधनी, चालक, प्रहरी प्रशासन र डिपोकै समन्वयमा ओभरलोड बोक्ने गरेको ती टिप्परचालकले बताउनुभयो । प्रहरीलाई दुई पैसा दिएपछि आफूलाई पनि चार पैसा कमाइ हुने भएकाले मासिक बुझाएर टिप्पर चलाउने गरेको उहाँले स्वीकार गर्नुभयो ।

कष्टकर छ दैनिकी

रामेछाप दोरम्बाका सुमन तामाङले श्रीमती र छोराछोरी नभेटेको नै दुई महिना भयो । धादिङबाट काठमाडौँसम्म नियमित बालुवा ल्याउने उहाँले छोराछोरीलाई राम्रो शिक्षा दिने उद्देश्यले कपनमा डेरा खोजेर राख्नुभएको छ ।

तामाङले गत साउन ५ गते छोराछोरी भेटेपछि डेरामै जान पाउनुभएको छैन । अघिल्लो पटक छाडेर आएको खर्च पनि सकिएको भनेर श्रीमतीले फोन गर्दा पनि जान नसकेको उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । “दिनभर क्रसरमा लाइन रातभरि ड्राइभिङ साँझ ८ बजे काठमाडौँ छिरेपछि बिहान ५ बजे राजधानी छाड्ने नियमले छोराछोरीलाई समय दिन नै पाएको छैन,” तामाङले गुनासो पोख्नुभयो ।

सरकारले छ वर्षदेखि दिउँसो उपत्यकामा टिप्पर छिर्न नपाउने नियम बनाएको छ । काठमाडौँ उपत्यकामा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर सञ्चालन गर्ने नियम लागु भएपछि परिवार भेट्न नपाउने सुमन एक्ला चालक भने होइनन् । काभ्रेपलाञ्चोक रोशी–९, पिन्थलीका श्याम लामाको पनि दुःखेसो उस्तै छ ।

“छोराछोरीको अनुहार नदेखेको पनि २० दिन भइसक्यो अब दसैँपछि यो पेसा नै गर्दिनँ होला,” लामाले गुनासो गर्नुभयो । १० वर्ष टिप्पर चलाएर अहिले वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सुनिल विष्टले हेर्दा सहजै भए पनि टिप्पर चलाउन चालकले अनेकौँ दुःख झेल्ने बताउनुहुन्छ ।

सरकारले बनाएको नियमले आफ्ना परिवारलाई चालकले भेट्न पाउने नैसर्गिक अधिकारको हनन भएको भन्दै मजदुर र टिप्पर व्यवसायी सङ्घले त्यसमाथि प्रश्न उठाएका पनि छन् तर प्रहरीकै तथ्याङ्कले पनि दिउँसो टिप्पर चलाउँदा दुर्घटना बढेको देखाएपछि सरकारको निर्णयको नागरिकस्तरबाटै स्वागत भएको छ । काठमाडौँ उपत्यकामा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुरबाट दैनिक दुई हजारभन्दा धेरै टिप्परमा चार हजार मजुदर कार्यरत छन् ।गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button