हाङचाओ : नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोकेकी छन्।
१९औं एसियाली खेलकुदको समापन समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोकेकी हुन्। २५ वर्षपछि व्यक्तिगत स्पर्धामा नेपाललाई रजत पदक दिलाएकी एरिकालाई नेपाल ओलम्पिक कमिटी र सेभ द मिसनले राष्ट्रिय झण्डा बोक्न दिने निर्णय गरेको हो। १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भने तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए।
एरिकाले शनिबार कुमुते ६८ केजीमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन्। करातेमा नेपालबाट आठ खेलाडी सहभागी भएकोमा एरिकाले मात्र पदक जितेकी हुन्। समग्रमा यो तेस्रो रजत पदक हो। यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्।
यस्तै सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ टिमले रजत जितेको थियो। एसियाली खेलकुदको अन्तिम दिन प्रतिस्पर्धा गरेकी करातेकी सविना श्रेष्ठ ५० केजीमुनिको तौल समूहको अन्तिम ३२ मा चीनकी रानरान लिसँग ३–१ ले पराजित भइन्।
नेपालले १९औं एसियाली खेलकुदमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै दुई सय ५३ खेलाडी सहभागी गराएको थियो। जसमा नेपालले एक रजत र एक कांस्य पदक जित्न सफल भयो। नेपालको महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो।अन्नपूर्ण पोष्ट दैनिकबाट ।



