कृषि र किसान

बजार पुग्यो बाजुराको अर्गानिक स्याउ

शेरबहादुर सार्की

बाजुरा। बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि बजारमा लगिएको छ । बाजुरामा उत्पादन गरिएको अर्गानिक स्याउ स्थानीय रूपमा बिक्री नभएपछि किसानले सहर लगेका हुन् ।

कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान ग्रेप परियोजनाले गरेको कार्टोनको सहयोगमा बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उत्पादन गरिएको स्याउ बिक्रीका लागि सहर लगिएको स्वामिकार्तिक गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “केही समयअघि बाटो बन्दका कारण बारीमै रहेको स्याउ यति बेला मार्तडी–कोल्टी सडक सञ्चालनमा आएपछि बिक्री लागि जिल्लाबाहिर लगिएको हो ।”

गाउँमा उत्पादन गरेको अर्गानिक स्याउले जिल्लाभित्रै बजार नपाएपछि बिक्रीका लागि बाहिर लिनुपरेको स्याउ किसान बताउँछन् । बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुरका उपभोक्ताका लागि बाजुराको अर्गानिक स्याउ कोल्टी–मार्तडी–साँफे–स्याउले हँुदै धनगढी पुगेर बिक्री वितरण गर्ने योजना रहेको किसान धनबहादुर रावलले बताउनुभयो ।

मार्तडी, बाम्का, साँफे, सिलगढी, दिपायल, स्याउले, बुडर, सहजपुर, अत्तरियाका उपभोक्ताले बाटोमै र धनगढीका उपभोक्ताका लागि धनगढी बसपार्कमा रहेको आर के मोबाइल ग्यालरीबाट असोज २४ गते ती बजारमा पुगेको छ ।

बाजुराको अर्गानिक स्याउलाई बिक्रीका लागि बारीबाट भरिया, खच्चडले पिलिचौ र पिलिचौरदेखि ट्याक्टर, ट्रकबाट लगिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल र खप्तड छेडेदहलगायतका स्थानीय तहमा स्याउ उत्पादन हुने गरेको छ । अहिले पहिलो चरणमा स्वामिकार्तिक गाउँपालिकाको स्याउ बजारीकरणका लागि जिल्लाभन्दा बाहिर लगिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकको बारीमा ढुवानी अनुदानको व्यवस्था गर्दै पहिलो चरण एक ट्रक स्याउ पिलिचौरदेखि कोल्टी, मार्तडी, बाम्का, अछाम, डोटी हुँदै धनगढीसम्म लगिएको छ ।”

पहिला जगनाथ, बूढीनन्दा र स्वामिकार्तिकमा मात्र उत्पादन हुने स्याउ अहिले हिमालीमा, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा समेत उत्पादन हुने गरेको छ । यहाँ स्थानीय, फुजी, गाला र गोल्डेन स्थानीय स्याउ उत्पादन हुने गरेको छ । बाजुराको १७० हेक्टर जमिनमा झन्डै एक हजार २० मेट्रिक टन उत्पादन हुन्छ ।

यसै गरी धनगढी समाचारदाता अविनाश चौधरीका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादित अर्गानिक स्याउ धनगढीबाट बिक्री गर्न थालिएको छ ।

पहाडमा स्याउको बजार खासै नरहेकाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा स्थानीय कृषक समूहले तराईमा स्याउ पु¥याएर बिक्री गर्न थालेको हो । बाजुराबाट कर्णाली प्रदेशको दैलेख, सुर्खेत र लुम्बिनी प्रदेशको बाँके, बर्दिया हुँदै धनगढीसम्म पु¥याइएको अर्गानिक स्याउ प्रतिकेजी १३० रुपियाँका दरले बिक्री गरिरहेको फ्युचर कृषक समूहका अध्यक्ष धनबहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको कार्यालय र कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान सहयोग गरेपछि बिक्रीका लागि स्याउ तराईमा ल्याइएको हो । ढुवानीमा दुवै कार्यालयको सहयोग ४०/४० प्रतिशत रहेको छ । कृषक समूहले ढुवानी खर्च २० प्रतिशत बेहोरेको छ ।

३७० हेक्टरमा स्याउ खेती गरिएको बाजुरामा यस वर्ष एक हजार १३७ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको जनाइएको छ । उत्पादित स्याउमध्ये २० मेट्रिक टन स्याउ धनगढी ल्याएर बिक्री गर्ने लक्ष्य रहेको रोकायाले बताउनुभयो । बाजुराबाट धनगढीसम्म स्याउ पु¥याइएपछि बिक्री, वितरण स्थानमा पुगेर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले कृषकलाई हौसला प्रदान गर्नुभएको थियो । सो क्रममा कृषिमन्त्री चौधरीले किसानले उत्पादन गरेको स्याउको बजारीकरणमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button