मूल खबर

पत्रकारिता क्षेत्रले निराशा जगाउनु हुँदैन: सभामुख

काठमाडौं ।

सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रमा पनि धेरै किसिमका विकृतिहरु मौलाइरहेकाले मुलुकको विकास र समृद्धि आशातीत रुपमा अघि बढ्न नसकेको बताउनुभएको छ ।

दशैंको अवसरमा बिहीबार राष्ट्रिय सञ्चारमाध्यमका सम्पादक तथा संसदीय मामिलाका सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै सभामुख घिमिरेले पत्रकारिता क्षेत्रबाट मुलुकले धेरै आशा गरेको भए पनि सो आशा पूरा हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रले मुलुकमा निराशा जगाउन नहुने र आशाको सञ्चार गराउनुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

सभामुख घिमिरेले विभिन्न सञ्चारमाध्यम र पत्रिका पढेर राजनीतिक नेतृत्व र आफूहरुलाई पनि केही दिशानिर्देश हुनुपर्नेमा हिजोआज त्यस्तो केही नहुने गरेको र सञ्चारमाध्यमले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु दुःखद रहेको बताउनुभयो । पत्रकारिता आफैं आशा जगाउने माध्यम हुनुपर्नेमा निराशा जगाउने माध्यम बन्न पुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । पत्रकारहरु आफैंमा पनि लेखेर के हुन्छ र भन्ने भावनाको विकास हुन थालेकाले पनि पत्रकारिता क्षेत्र कमजोर बन्दै गइरहको उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले संसदीय र लोकतान्त्रिक व्यवस्थामा प्रेसको महत्वपूर्ण भूमिका हुने र प्रेसले शासकहरुलाई सकारात्मक खबरदारी गर्दै काम गर्न उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सबैतिर बेथिति र विकृतिहरु बढिरहेकाले मुलुकमा विभिन्न समस्याहरु देखिएको भन्दै राजनीतिक नेतृत्व पनि सच्चिएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

त्यस अवसरमा सम्पादक तथा सञ्चारकर्मीले संसद् तथा सांसदहरुले जनताका पक्षमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सभामुखलाई त्यस विषयमा संवेदनशील बन्न आग्रह गरेका थिए । साथै संसद् सञ्चारमैत्री हुनुपर्ने आवश्यकतासमेत सञ्चारकर्मीलेऔंल्याएका थिए ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button