खबर

सयपत्री फूलको आयातमा कडाइ

काठमाडौँ । नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी आयातमा रोक लगाएको जानकारी गराएको छ ।

फूल तथा फूलको बोट, बिरुवा, बिउबिजनसम्बन्धी कार्यलाई सङ्घीय सरकारका तर्फबाट पनि पुष्प विकास केन्द्रले हेर्ने भएकाले देशव्यापी रूपमा नै प्रतिबन्ध लगाएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फूलमा आत्मनिर्भर हुनका लागि नै आयातमा प्रतिबन्ध लगाएको हो, फूल व्यवसायले नेपालमा उत्पादन हुने फूलबाट नै धान्न सकिने अवस्था रहेको भनेका कारण सरकारले आयातमा रोक लगाएको हो ।” यो तिहारमा १०–१५ प्रतिशत फूल अपुग हुन सक्ने देखिएको छ, कात्तिक १ भन्दा पहिले सिफारिस लिइसकेका व्यवसायीले मात्र आयात गर्न सक्ने पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले बताउनुभयो ।पुष्प विकास केन्द्रका प्रमुख श्रेष्ठले फूलमा नेपाल लगभग आत्मनिर्भर नै छ, गत वर्षभन्दा यसपालि उत्पादन पनि बढी भएको छ, आफ्नै उत्पादनले पुग्ने भएपछि आयातका लागि सिफारिस गर्दैनौँ भन्नुभयो ।

फूल आयातका लागि केन्द्रले नै सिफारिस गर्नुपर्ने हुन्छ । त्यो सिफारिस अहिलेलाई बन्द गरिएको उहाँले बताउनुभयो तर प्लान्ट क्वारेन्टाइनले चाहेमा फूल आयातका लागि इजाजत दिन सक्छ । केन्द्रले सिफारिस गरेपछि फूल ल्याउने इजाजत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले दिने गर्छ ।

प्लान्ट क्वारेन्टाइन केन्द्रका अधिकारी महेशचन्द्र आचार्यले भन्नुभयो, “पुष्प विकास केन्द्रले फूल आयात गर्न सिफारिस दिए पनि नदिए पनि खासै फरक पर्दैन । भारतबाट आउने फूल निरोगी छ भनी प्रमाण पेस गरेमा हामीले आउन दिन्छौँ ।”

सबै प्रक्रिया पूरा गरेमा आफूहरूले नाकामा फूल रोक्न मिल्दैन तर नेपालमा सयपत्रीमा नपाइने रोग पनि भारतमा पाइएको र त्यही भएर अलि कडा गरेको बताउँदै उहाँले कुनै प्रकारको रोग वा कीटाणु छैन भनी प्रमाणित भयो भने आयात गर्न दिने बताउनुभयो ।

पुष्प विकास केन्द्रले फूलको बिउ, बिरुवाका लागि सिफारिस नगरेसम्म क्वारेन्टाइनले आयात गर्न नदिने प्रावधान रहेको छ । फूलको बिउ, बिरुवा आयातका लागि पुष्प विकास केन्द्रको सिफारिस अनिवार्य छ तर फूल आयातका लागि छैन ।

तर, पुष्प विकास केन्द्रको सूचनामा भनिएको छ, “यस वर्ष तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा कात्तिक १ देखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सत्रपत्री मालाको आयात अनुमतिको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ। इजाजतपत्रबाहेक आयात गरिएको वस्तु अवैध हुने छ ।”गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button