कृषि र किसान

महबाट राम्रो आम्दानी

लोग भण्डारीको परम्परागत घारमा मौरीले लगाएको महको चाका। तस्बिर : राजन राजत, हुम्ला

राजन रावत

हुम्ला। हिमाली जिल्ला हुम्लामा यो वर्ष मौरी पालक किसानले राम्रो आम्दानी गरेका छन्। परम्परागत रूपमा मौरी पालन गर्दै आएका किसानले फूल फुल्ने बाली बढी लगाएको कारण मह उत्पादन राम्रो भएको हो।

सिमकोट गाउँपालिका–२ का किसान लोग भण्डारीले एउटै घारबाट १५ किलो मह उत्पादन भएको बताउनुभयो। उहाँका १० वटा घार छन्।

यो वर्ष भण्डारीले १४० केजी महप्रति केजी एक हजार आठ सयका दरले बिक्री गरेको जानकारी दिनुभयो। मह बिक्रीबाट मात्र भण्डारीले दुई लाख ५२ हजार रुपियाँ आम्दानी गर्नुभएको छ।

त्यसैगरी सिमकोट गाउँपालिका–१ को दोजाम गाउँका स्यामजोर लामाले २० वटा घारबाट दुई क्विन्टल मह बिक्री गर्नुभएको छ। उहाँले मह बिक्रीबाट तीन लाख ६० हजार आम्दानी गर्नुभएको छ।

यता नाम्खा गाउँपालिका–१ को ताङ्गिन गाउँका सोनाम लामाले तीन क्विन्टल महबाट पाँच लाख चालिस हजार रुपियाँ कमाई भएको बताउनुभयो। उहाँले ३० घार मौरी पाल्दै आउनुभएको छ।

यसरी मह बिक्रीबाट राम्रो आम्दानी गर्ने तीन सय भन्दा बढी किसान रहेको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ।
गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button