खबर

म्यान्माका करिब ३०० सैनिक भागेर भारतमा

गुवाहाटी : सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीन सय मान्माका सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले जनाएका छन्। म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग विद्रोही समूहले सशस्त्र आन्दोलन गरिरहेको छ।

गत नोभेम्बरमा अराकान आर्मी (एए)ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो। यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख सहर पालेतवा र ६ वटा सैन्य अखडा कब्जा गरेको बताएको थियो।

आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, ‘हतियार र गोलाबारुदसहित कुल २ सय ७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन्।’ उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएको उनले बताए। ‘आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ’, उनले भने।

अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा संकलन गरिरहेको छ। उनीहरूलाई म्यान्मा फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमाका अन्य सयौं सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन्।अन्न्पूर्ण पोष्टबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button