मूल खबर

कांग्रेस महासमितिको संकल्प, अब एक्लै चुनाव लड्ने

राधा खनाल

काठमाडौं : सत्तासीन कांग्रेसले अबका कुनै पनि चुनावमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने संकल्प गरेको छ। महामन्त्री गगनकुमार थापाले ‘एक्लै चुनाव लड्नुपर्ने’ भनी पेस गरेको सांगठानिक प्रस्तावलाई महासमिति बैठकले बिहीबार सर्वसम्मत पारित गरेको हो। फागुन ७ बाट सुरु भएको महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन, प्रवक्ता प्रकाशशरण महतले पेस गरेको आर्थिक प्रतिवेदन र श्याम घिमिरेले पेस गरेको आर्थिक लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गर्दै सम्पन्न भयो। केन्द्रीय समितिको अबको बैठकले परिमार्जनसहित सबै प्रस्तावलाई अन्तिमरूप दिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

महासमिति बैठक मुख्य गरी अबको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बहसमा केन्द्रित भएको थियो। संस्थापन पक्षको असहमतिबीच महामन्त्री थापाले उक्त प्रस्ताव बैठकमा पेस गरेका थिए। ‘….नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू शुभेच्छुक तथा समर्थकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं। र, हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं,’ महामन्त्री थापाको संगठानिक प्रस्तावमा छ। यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरूले अहिले नै गठबन्धनबारे निर्णय गर्न नहुने मत छलफलमा राखेका थिए। तर, शेखर कोइराला, महामन्त्री थापालगायत संस्थापन इतर पक्षीय नेताहरूले अबको चुनावमा गठबन्धन गर्न नहुने मत राखेका थिए।

महामन्त्री थापाको प्रस्तावमा ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुप¥यो’ भन्ने उल्लेख छ। गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साँझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्ने महामन्त्री थापाको प्रस्तावमा छ। ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्ने छौं,’ थापाले उल्लेख गरेका छन्।अन्नपूर्ण पोष्ट दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button