मूल खबर

कांंग्रेस-माओवादी निर्णयले सत्ता गठबन्धनमा दरार

जीवन शर्मा
काठमाडौं ।

सत्ता साझेदारीमा रहेका मुख्य दुई राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पछिल्लो बैठकको निर्णयले वर्तमान सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ।

गठबन्धनको मुख्य सहयात्री कांग्रेसको महासमिति बैठक र सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णयले गठबन्धनभित्रै आपसी संशय उत्पन्न भएको हो।

गत फागुन ७ देखि १० गतेसम्म चलेको कांग्रेस महासमिति बैठकबाट पारित आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र हिन्दु राज्य घोषणाको विषयलाई नेतृत्वले सकारात्मक लिएको विषयमा माओवादी रुष्ट बनेको छ।

कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गर्दै कांग्रेसले आफ्नै ताकतमा एक्लै चुनाव लड्ने हैसियत निर्माण गर्ने निर्णय गरेको थियो।

पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापाले पेस गरेको नीति तथा सांगठनिक प्रस्तावमा उल्लिखित गठबन्नधको सवाल, १० वर्षे सशस्त्र द्वन्द्व भन्ने शब्द र महासमिति सदस्यहरुले हिन्दु राष्ट्र घोषणाका पक्षमा गरेको हस्ताक्षर संकलनलगायत विषयलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्याउन आग्रह गर्नुभएको छ।

कांग्रेसको प्रतिवेदनमाथि माओवादीको हस्तक्षेपसमेत हुन थालेकोप्रति कांग्रेसको संस्थापन इतर समूहले आपत्ति जनाएको छ।

त्यस्तै राष्ट्रिय सभाको निर्वाचनका कोशी प्रदेशमा भएको धोका र कोशी प्रदेश सरकार निर्माणताका भएको गठबन्धनविरोधी साँठगाँठबारे माओवादी नेतृत्वबाहेक प्रायः सबै नेताहरुको मत फरक आएको छ।

यिनै विषयलाई ध्यानमा राखेर माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा कांग्रेसबाट पटकपटक गठबन्धनको खिलापमा काम गरेको भन्दै राष्ट्रिय सभा अध्यक्ष माओवादीले अरुलाई छाड्न नहुने दबाब आएको थियो। सोही दबाबअनुसार माओवादीले राष्ट्रिय सभामा आफ्नो उम्मेदवार उठाउने निर्णय नै गरेको छ।

माओवादी केन्द्र स्थायी कमिटी बैठकले राष्ट्रियसभाको अध्यक्षमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिँदै उपाध्यक्ष अग्नि सापकोटाले भन्नुभयो– ‘प्रधानमन्त्रीको कार्यकाल सकिएपछि हामी संवैधानिक निकायमा शून्य हुने अवस्थाले गर्दा पनि माओवादीले अध्यक्ष छाड्ने कुरा उचित हुन्न भन्ने निष्कर्षसहित हामीले उम्मेदवारी दिने निर्णय गरेका हौं। यसले गठबन्धनमा खासै असल नपर्ला।’

माओवादीले आगामी निर्वाचनमा एक्लै लड्ने निर्णयसमेत लिएको बताउँदै सापकोटाले भन्नुभयो– ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन। तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने गरी सांगठनिक तयारी गर्ने निर्णय गरेको छ ।’

बुधबार केन्द्रीय कार्यालय पेरिस डाडाँमा सम्पन्न स्थायी समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले तत्काल गठबन्धनको विकल्प नभएको तर कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा भएका छलफलप्रति भने आफू गम्भीर रहेको बताउनुभयो ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button