
मेचीनगर। डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको ११ औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् ।
खेलको ६१ औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।
जितसँगै झापा गोल्ड कपको चारपटकको विजेता आर्मी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ ।



