मूल खबर

कांग्रेसका मन्त्रीद्वारा सामुहिक राजीनामा

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक राजीनामा बुझाउँदै नेपाली कांग्रेसका मन्त्रीहरु । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिनुभएको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको कांग्रेसका ६ जना मन्त्रीले बुधबार साँझ राजीनामा दिनुभएको हो ।

कांग्रेसका मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा बुझाउनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्री मण्डलमा प्रदेशमा कांग्रेसका ६ जना मन्त्रीे रहनुभएको थियो ।

सामुहिक राजीनामा बुझाउँदै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले केन्द्रमा सत्तासमीकरण परिवर्तन भएको प्रदेश सरकारलाई बाटो खुला गर्न लोकतान्त्रिक मूल्य मान्यताअनुसार राजीनामा दिएको बताउनुभयो ।

सामुहिक राजीनामासँगै जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कांग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बताउनुभयो ।

मन्त्रीको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरण फेरिएकाले नयाँ ढङ्गले जाने बताउनुभयो । उहाँले सरकारमा रहेर सहजतापूर्वक काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि मिलेर जाने बताउनुभयो ।

मन्त्री तामाङसँगै मन्त्री चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले राजीनामा दिनुभयो ।

राजीनामा दिन खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री लामा बाहेक अन्य मन्त्री पुग्नुभएको थियो । गत वर्ष पुसमा यस प्रदेशमा बाम गठबन्धन सरकार रहेको केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै लोकतान्त्रिक बामगठबन्धन बनेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button