हेड लाइन

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं ।

निर्वाचन आयोगले इलाम क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा र बझाङको क्षेत्र नं १ मा हुने प्रदेशसभा उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ। आयोगले प्रकाशित उपनिर्वाचनको कार्यतालिकाअनुरूप तयारी अघि बढाएको हो।

स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार गत फागुण १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम र दल दर्ताको कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि दलहरू दर्ता भइसकेको बताउनुभयो।

उहाँका अनुसार उपनिर्वाचनमा भाग लिन इलाममा २० वटा र बझाङमा १९ वटा दलले दर्ता गराएको छ। यसरी दर्ता भएका राजनीतिक दलहरूलाई आयोगले निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ।

त्यसै गरी आयोगले मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि अनलाइनमार्फत् वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

आयोगले अन्तिम मतदाता नामावली प्रकाशनको लागि आयोगले गृह मन्त्रालयमार्फत् सबै प्रमुख जिल्ला अधिकारीहरूलाई प्रमुख नाम दर्ता अधिकारीसँगको समन्वयमा जिल्लाका राजनीतिक दलहरूसँग बैठक राखेर कार्यक्रमसम्बन्धी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

निर्वाचनको घोषणा भएसँगै आयोगले देशभरकै मतदाता नामावली अध्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलन भएका मतदाता नामावलीको अध्यावधिक तथा दाबी विरोधको प्रक्रिया अघि बढाएको हो। आगामी वैशाख १४ गतेसम्म १८ वर्ष पुग्ने मतदाताको विवरण पनि अध्यावधिक गरिने जानकारी दिँदै प्रवक्ता पौडेलले आगामी चैत्र २२ गते अन्तिम मतदाताको नामावली प्रकाशन गरिने बताउनुभयो ।

त्यसै गरी यही चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button