हेड लाइन

एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै

सूर्यप्रसाद पाण्डे

भक्तपुर । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ । छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको सङ्केतका रूपमा बुझ्नुपर्ने तर्क जनसङ्ख्याविद्को छ ।

एसइई बिहीबारबाट सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष एसइईमा सहभागी हुनका लागि पाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन् । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

“केही वर्ष यता एसइईमा छात्राभन्दा छात्रको सङ्ख्या वृद्धि हुँदै गएको छ,” उहाँले भन्नुभयो, “यसो हुनुको कारणबारे पनिकाले विश्लेषण गरेको छैन ।”

गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यति बेला परीक्षामा सहभागी कुल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ५५ हजार ९१७ जना थिए । छात्रको सङ्ख्या छात्राको तुलनामा करिब पाँच हजार बढी अर्थात् दुई लाख ६० हजार ६७४ जना थियो । २०७८ सालको एसइईमा छात्रभन्दा छात्रा ३८ जनाले मात्रै बढी थिए । त्यस वर्ष परीक्षामा सहभागी चार लाख ८५ हजार ३९६ जम्मा परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ४२ हजार ७१२ र छात्रको सङ्ख्या दुई लाख ४२ हजार ६७४ रहेको थियो ।

२०७५ सालको परीक्षामा भने छात्रभन्दा छात्राको सङ्ख्या दुई हजार बढी थियो । २०७६ र २०७७ सालको एसइईमा भने विद्यालय आफैँले आन्तरिक मूल्याङ्कन गरेर अङ्क प्रदान गरेका थिए । यस वर्ष छात्राभन्दा छात्रको सङ्ख्या धेरै रहेको प्रदेशमा बागमती, गण्डकी र मधेश रहेका छन् । बागमतीमा छात्राको सङ्ख्या ५१ हजार २८९ जना रहेको छ तर छात्रको सङ्ख्या ५४ हजार ४५३ छ । मधेश प्रदेशमा छात्रा र छात्रको सङ्ख्या व्रmमशः ४२ हजार २४८ र ४३ हजार ६८५ छ । यस्तै गण्डकी प्रदेशमा छात्रा र छात्र परीक्षार्थीको सङ्ख्या क्रमशः २१ हजार १०६ जना र २२ हजार ७३ रहेको बोर्डले जानकारी दिएको छ । अहिले मुलुकको कुल जनसङ्ख्यामा पुरुषभन्दा महिला नै बढी छन् । कुल दुई करोड ९१ लाख जनसङ्ख्यामध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख रहेको छ भने महिलाको सङ्ख्या एक करोड ४९ लाख रहेको छ ।

पहिले एक जना महिलाले आफ्नो जीवनकालमा चार/पाँच सन्तान जन्माउँथिन् । तर पछिल्ला वर्षहरूमा त्यस्तो सङ्ख्या मुस्किलले दुईको हाराहारीमा झरेको छ । “दुई वटा सन्तान जन्माउनेमध्ये पनि अधिकांश पहिलो सन्तान छोरी भयो भने छोराको आशमा दोस्रो सन्तानको इच्छा गर्ने धेरै छन्,” त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले भन्नुभयो, “अझ अहिले त पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानको इच्छा नै नगर्ने आमाबाबुको सङ्ख्या बढ्न थालेको छ । त्यसैको असर एसइई दिने परीक्षार्थीको सङ्ख्यामा देखियो ।”

उहाँले यो अवस्थाले भविष्यमा केटाले बिहे गर्ने बेलामा केटी नपाउने समस्या निम्तिन सक्ने बताउँदै छिमेकी मुलुक चीनमा पनि यस्तै समस्या रहेको सुनाउनुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button