मूल खबरस्वास्थ्य

सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोलीसहित रुकुमकोट पुग्दा (फोटो फिचर)

काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा. शर्मा रुकुमकोट पुगेका हुन् ।

सांसद शर्मा विशेषज्ञ स्वास्थ्यकर्मी सहित रुकुमकोट पुगेको थाहा पाएपछि उक्त गाउँपालिकाका महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न समुदायका नागरिक विहानै देखि स्वास्थ्य शिविरमा पुगेका थिए ।

शुक्रबार डा. शर्मा नेतृत्वको केएमसीको स्वास्थ्य टोलीले सिस्ने गाउँपालिका वडा नं. ५ मा सञ्चालन गरेको बृहद् निःशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई हजार बिरामीको उपचार गरिएको छ । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा १८७५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा १२० जनाको इसिजी, १८२ जनाको ल्याब परीक्षण, १९५ जनाको भिडियो एक्सरे गरिँदा ६५ जनाको इको गरिएको छ । शिविरमा ५५ जनाको दाँत खोलिएको थियो भने, १०७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।

शिविरमा महिला, ज्येष्ठ नागरिक, स्थानीय गरिब, विपन्न नागरिकहरुले केएमसीका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाएका थिए । शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, नशा तथा हाडजोर्नी, बाल रोग सम्बन्धी सेवाहरु दिइएको छ । कार्यक्रममा केएमसीका जनरल मेनेजर दाहालले निःशुल्क स्वास्थ्य शिविरबारे प्रकाश पारेका थिए ।

शिविरको उद्घाटन गर्दै सांसद शर्माले जनतालाई राज्यले सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नसकेपनि व्यक्तिगत रुपमा आफु लागि परेको बताए । समाज सेवा र राजनीति एक अर्काका पुरक रहेको औल्याउँदै सांसद शर्माले दुर्गमका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

शुशिल कोइराला प्रतिष्ठानका कार्यवाहक अध्यक्ष अञ्जना पाण्डेको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविरमा प्रतिनिधि सभा सदस्य कुसुम थापा विशिष्ट अतिथि रहेका थिए । भने, गण्डकी प्रदेश सभा सदस्य डिल्ली सुवेदी, नेता सुवास पोखरेल जिल्ला समन्वय समिति संयोजक मेघ बहादुर श्रेष्ठ, सिस्ने गाउँ पालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी माधबप्रकाश शर्माले निःशुल्क स्वास्थ्य शिविरले दुर्गम क्षेत्रमा रहेका जनतालाई पुर्याएको स्वास्थ्य सेवा, सांसद शर्माको सामाजिक कामका बारेमा चर्चा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button