स्वास्थ्य

घुर्ने समस्याः एक मौन महामारी

डा दिवस सुनार

‘हाम्रो बुवा त रातभरी घुर्नु हुन्छ’, ‘ट्रयाक्टरको भन्दा ठूलो आवाज आउँछ​​ हाम्रो दाई घुर्दा त​।’
‘मेरो श्रीमान दिन भरी काम गर्नुहुन्छ, थाकेर होला रातभरी घुर्दै सुत्नुहुन्छ’, ‘मेरो बच्चा सुत्दा घुर्छ अनि मुख पनि खुल्ला राख्छ’।

‘म घुर्छु कि घुर्दिन​ थाहा छैन, तर कहिलेकाहीँ एक्कासी सास रोकिएर बिउझिन्छु, त्यस्तो हुँदा अलिकति पानी पिउँछु, ठिक भए जस्तो हुन्छ​, फेरि सुत्छु”। ‘पल्लो घरको काका घुरेको हाम्रो घर सम्म सुनिन्छ’।

यी सबै प्रतिनिधि वाक्यहरु हुन्, जुन आजको आधुनिक समाजमा सजिलै सुन्न पाइन्छन्।

घुर्नु के सामान्य कुरा हो? के यसले शरीरमा कुनै हानिकारक असर गर्छ? यसलाइ कम या पुरै हटाउन सकिन्छ त?

यी दोस्रो हरफका वाक्यहरु हिजोआज​ हरेक घरको कहानी बनिसकेको छ, तर पनि घुर्ने समस्या लिएर सम्बन्धित चिकित्सकसम्म जाने र उचित परामर्श लिनेको संख्या भने निकै न्युन छ।

हामीले फ़ेरेको सास जब नाकको पछाडी भागबाट भित्र बाहिर प्रवाह हुन्छ, यदि ति भागहरुको मांसपेशीहरु मोटो वा खुकुलो अवस्थामा छ भने सास फेर्ने क्रममा घाँटीभन्दा माथीको भागमा कम्पन पैदा हुन्छ र यसैको आवाजलाई हामी घुर्ने भन्छौं। जब हामी गहिरो निद्रामा हुन्छौ, हाम्रो मुख भित्रको माथिल्लो भाग (नरम तालु), जिब्रो र घाँटीको मांसपेशीहरू संकुचित हुँदैनन र आंशिक रूपमा वायुमार्गमा अवरोध पैदा हुन्छ​ र​ ती मांसपेशीहरूमा कम्पन पैदा हुने गर्दछ। हाम्रो श्वासनली जति साँघुरो हुन्छ, वायुप्रवाह त्यति नै जोडसँग हुन्छ।

यसले गर्दा कम्पनको आवाज बढ्न जान्छ र हामीले घुर्ने आवाज पनि बढ्छ। लगभग हामी सबैजसो नै बेलाबेलामा घुर्छौं, तर हामीमध्ये कसै कसैको लागि मात्र यो एक नियमित समस्या हुन सक्छ। यसले कहिलेकाहीँ गम्भीर स्वास्थ्य अवस्थालाई पनि संकेत गर्न सक्छ।

घुर्नुसँगै यदि निम्नमध्ये कुनै पनि लक्षणहरू साथमा छ भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ।
निद्राको समयमा सास रोकिने समस्या
दिनमा अत्याधिक​ निद्रा लाग्ने
कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न कठिनाई हुने
बिहान बिहान टाउको दुख्ने
निद्राबाट उठ्दा घाँटी दुखिरहने
निद्रामा बेचैनी हुने
उच्च रक्तचापको बिरामीहरु
राति छाती दुख्ने

यदि घुर्ने आवाज यति ठूलो छ कि यसले तपाईंको पार्टनरको निद्रामा बाधा पुगेको छ​ भने बालबालिकामा पढाईमा ध्यान केन्द्रित गर्न कठिनाई हुने र व्यवहारमा समस्या वा विद्यालयमा खराब प्रदर्शन हुनसक्छ।

घुर्नुको पछाडि धेरै कारणहरू हुन सक्छन्, तीमध्ये नाक, मुख र साइनसको समस्या, रक्सी सेवन, एलर्जी, चिसो र अधिक वजन प्रमुख कारण हुन।

यसबाट बच्न र भ​एको समस्यालाई न्युनिकरण गर्न : तौल घटाउने, सुत्ने समयको नजिक खानेकुरा नखाने, रक्सी सेवन नगर्ने, नियमित ब्यायाम​ गर्ने, केवल एकपट्टि कोल्टे परेर​ नसुत्ने, नाक तथा साइनसको समस्या छ भने समयमा नै उपचार गर्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्छ।

यी बाहेक, विभिन्न चिकित्सकिय उपकरणहरू र शल्यक्रियाहरू उपलब्ध छन्, जसबाट घुर्ने कम गर्न सकिन्छ र स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न सकिन्छ​। यद्यपि, सबैका लागि उपचार उपयुक्त वा आवश्यक हुन्छ​ भन्ने हुँदैन​, त्यसैले समयमा नै सम्बंधित चिकित्सकको सुझाव लिन जरुरी हुन्छ।स्वास्थ्य खबर पत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button