खबरहेडलाईन

आचारसंहिता विपरीतका कार्य गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

भोलि शनिबार इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनलाई लक्षित गरी आयोगले सो निर्देशन दिएको हो।

आयोगले निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच आउने अवस्था देखिएमा त्यसलाई अनुगमन तथा निगरानी गरी तत्काल नियन्त्रमा लिन आयोगले तीनबुँदे निर्देशन दिएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताउनुभयो।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन मौन अवधिमा निर्वाचन ‘कसुर तथा सजाय’ ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्थाबाहेक अन्य विभिन्न कार्य नगर्न भन्दै आयोगले सम्बन्धित सबै सरोकारवालालाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताउनुभयो।

उपनिर्वाचन २०८१ का लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्थाबमोजिम मतदान हुने दिन वैशाख १५ गते शनिवारभन्दा ४८ घण्टाअघि वैशाख १२ गते बुधबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिसकेको छ। आयोगले मौन अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ।

आयोगका अनुुसार नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्न निर्देशन दिइएको थियो।

आयोगको निर्देशनमा निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध गर्ने, थुनछेक गर्ने, डर, धाक, धम्की वा त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पु¥याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने कार्य नगर्न र नगराउन भनेको छ ।

त्यसै गरी आयोगले निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनको काममा संलग्न कर्मचारी, पदाधिकारी, अनुगमनकर्ता वा सुरक्षाकर्मी वा आयोगले खटाएको पर्यवेक्षक वा सञ्चारकर्मी वा कुनै संस्थाले निर्वाचनको कुनै काम गर्दा कानुनबमोजिम कुनै उम्मेदवारलाई आफ्नो मत दिनबाहेक निर्वाचनमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको काम नगर्न र नगराउन पनि भनेको छ।

यस्तै, उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना नगर्न र नगराउन र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी नहुन पनि भनेको छ।न्यूज अफ नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button