कृषि र किसानहेड लाइन

अर्थतन्त्र सुधारको विकल्प कृषि

काठमाडौँ । जनता एग्रो एन्ड फोरेस्ट्री लिमिटेडका अध्यक्ष एवं उद्योगपति पवन गोल्यानले साना किसानलाई प्रोत्साहन तथा उत्पादन गरेको बाली वस्तु बिक्रीका लागि आफूले प्रोत्साहन गरिरहेको बताउनुभएको छ ।

जनता एग्रो एन्ड फोरेस्ट्री लिमिटेडले बिहीबार पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले विभिन्न तथ्याङ्क हेर्दा देशको अर्थतन्त्र सुधार गर्ने विकल्प कृषिसँग मात्र रहेको बताउँदै आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

किसानले मेहनत गरेर उत्पादन गरे पनि कृषि उपज बिक्री नभएका कारण समस्यामा देखिएको बताउँदै उहाँले किसानले उत्पादन गरेको बाली वस्तु खरिद गर्नका लागि स्थानीय तह तथा सहकारीले पहल गर्नुपर्ने सुझाव दिनुभयो । वैदेशिक रोजगारीबाट देशमा रेमिट्यान्स मात्र होइन, सिप र दक्ष जनशक्ति पनि आइरहेको बताउँदै उहाँले त्यसलाई उपयोगमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । वैदेशिक रोजगारीबाट फर्केका युवालाई उन्नत तथा व्यावसायिक कृषिमा आकर्षित गर्ने अहिलेको समय उपयुक्त रहेको दाबी गर्दै उहाँले वैदेशिक रोजगारबाट फर्केका युवा देशका लागि ठुलो जनशक्ति रहेको बताउनुभयो । जनता एग्रोका निर्देशक परितोष पौडेलले नेपालले कृषिमा सफल भएका र नयाँ नयाँ प्रयोग गरी आधुनिक कृषिको सुरुवात गरेका देशबाट सिक्नुपर्ने धारणा राख्नुभयो । देशको आयात र रेमिट्यान्स प्रतिस्थापन गर्ने एक मात्र विकल्प कृषि भएको धारणा राख्दै कम्पनीले कृषि उत्पादनको निर्यातमा विशेष कार्य गर्दै आएको जानकारी दिनुभयो ।

त्यस्तै कम्पनीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषि क्षेत्रको विषयमा समेटिनुपर्ने सुझाव पनि दियो । कम्पनीले स्थानीय किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म नपुग्ने र भने जस्तो आम्दानी नहुने हुनाले, सो समस्यालाई हल गर्नका लागि कृषि उपज भण्डारण तथा प्रशोधन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । नेपालमा उपयोगमा नआएका बाँझो कृषियोग्य जग्गा प्रयोगमा ल्याउनुपर्ने कुरामा कम्पनीले जोड दिएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button