स्वास्थ्यहेड लाइन

नतिजा नआए पनि प्रवेश परीक्षामा भाग लिन पाइने

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ ।

यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले बुधबारदेखि आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।

चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले १२ कक्षाको विद्यार्थीको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले पनि एकीकृत प्रवेश परीक्षाका लागि समय कुर्नुपर्ने व्यवस्था रहेकोमा यो पटकबाट कक्षा १२ को नतिजा नआइसकेको भए पनि परीक्षामा सहभागी हुन पाउने जानकारी दिनुभयो ।

एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ । उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २.४ जिपिए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ । डा. झाले कक्षा १२ को नतिजाका कारण विद्यार्थीले लामो समय कुर्नुपर्ने भएकाले कक्षा १२ को परीक्षा दिएकाले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौदेखि ५ भदौसम्म तोकेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button