
मनकुमार गदाल

दमक
काकरभिटा लौकही सडक आयोजना (पूर्वी खण्ड) को झापाको दमक ५ मा रहेको सडक कार्यालयमा ज्ञापन पत्र बुझाउन जाँदा कार्यालयका प्रमुख र जिम्मेवार कर्मचारी नभेटिएको भन्दै माओवादी, विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले कार्यालयकै प्राङ्गणमा कोण सभा गरेर भित्तामा ज्ञापन पत्र टाँसेर फर्किएका छन् ।
माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा र माओवादी सम्वद्ध संगठनहरुले आज एसियन हाईवे निर्माणका क्रममा माओवादी जनयुद्धसँग सम्बन्ध जोडिएको कमल ३ स्थित सहिद गेट भत्किने भएपछि त्यसलाई नभत्काउन अपिल गर्न पुगेका माओवादी, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा र माओवादी सम्बद्ध नेता कार्यकर्ता, पूर्व जनमुक्ति सेना, वाईसिएल कार्यकर्ता जिम्मेवार कसैलाई नभेटपछि भित्तामा ज्ञापन पत्र टाँसेर फर्किएका हुन् ।
उनीहरुले सडक निर्माण गर्दा आफूहरुसँग छलफल नगरी माओवादी जनयुद्ध र लाखौं कार्यकर्ताहरुको भावना जोडिएको सहिद गेटमा क्षति नपुर्याउन भन्दै अनुरोध गरेका छन् ।
कार्यालय अगाडी गरेको कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले माओवादी आन्दोलनको इतिहास संरक्षित रहेको सहिद गेटका विषयमा छलफल गर्न कार्यालय आउँदा कर्मचारी भागेको भन्दै आक्रोश पोख्नु भयो ।
‘हामी हाम्रो सरोकार लिएको कार्यालयमा आयौं तर जिम्मेवार कर्मचारी भेटिनु भएन । भोलि गेटको बारेमा छलफल गर्नुपर्दा उहाँहरुले हामीलाई खोज्दै गेटमा आइपुग्नु पर्ने अवस्था आउँछ’, तामाङले बताउनु भयो ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता सुमन सिंहले विकाससँगै माओवादी जनयुद्धको विरासतको रूपमा स्थापित सहिद गेटको संरक्षणको सवाल प्रमुख भएर आएको भन्दै माओवादी आन्दोलनका सबै घटकहरुले सचेत रहनुपर्ने समय आएको बताउनु भयो ।
जनमुक्ति सेना नेपालका अध्यक्ष नर कुमार तामाङले हिजो निरंकुश राजतन्त्र र एकात्मक व्यवस्था ध्वस्त पारेर गणतन्त्रको निम्ति लडेर माओवादीले इतिहास निर्माण गरेको स्मरण गराउँदै गणतन्त्रमा पनि इतिहास रक्षाका निम्ति लड्न तयार रहेको भन्दै चुनौती दिनु भयो ।
सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर आशिष देवले भने आफूलाई आज ज्ञापन पत्र बुझाउन आउने बारे कुनै सूचना नभएको बताउनु भयो । म साइडको काममा गएको थियो । काममा भएको वेला फोन आयो म कार्यालय आइपुग्दा उहाँहरु कार्यक्रम सकेर निस्किनु भएछ । गत शुक्रवार भने उहाँहरु ज्ञापन पत्र बुझाउन आउछौ भने पनि उहाँहरु नआएको इन्जिनियर देवको भनाइ छ ।
‘प्रमुखज्यू बिल लिएर काठमाडौं जानुभएको छ । मलाई उहाँहरु आउनुहोला भन्ने थाहा भएन । म त साइटमा काम गरिरहेको थिएँ’, देवले भन्नु भयो ।
शन्तिकालमा आएपछि माओवादी पक्षले त्यहाँ दुई वटा पक्की गेट निर्माण गरेका थिए । दुवै गेटमा युद्धका क्रममा सहादत भएका लडाकुहरुको नाम लेखिएको छ । हाल हाईवे निर्माणका क्रममा ती दुवै गेट भत्कने अवस्था आएको छ ।
गेट संरक्षणका बारेमा सरकारी पक्ष, निर्माण पक्ष र माओवादी गरि तीनै पक्षले पहल लिनुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।ज्ञापन पत्रमा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य ‘अग्नि’, नेपाल कम्युनिष्ट पार्टी झापा इन्चार्ज सुमन सिंह सी, जनमुक्ति सेना नेपालका अध्यक्ष तामाङ, घाइते योद्धा प्रतिष्ठान अध्यक्ष मणि कुमार साम्पाङ, माओवादी केन्द्र इलाम सह इन्चार्ज कान्छा लावती, जनयोद्ध प्रतिष्ठानका अध्यक्ष विकास राईले हस्ताक्षर गर्नु भएको छ ।



