मूल खबरहेड लाइन

चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता धेरै

लक्ष्मी सापकोटा
काठमाडौँ। मुलुकमा लगानी गर्ने भनेर सबैभन्दा धेरै छिमेकी मुलुक चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ३१९ वटा परियोजनामार्फत कुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ ।

भारतबाट १८ वटा परियोजनाबाट दुई अर्ब ७३ करोड ४६ लाख ५५ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै अमेरिकाबाट १५ वटा परियोजनामार्फत एक अर्ब ५१ करोड ९३ लाख ९८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।हङकङबाट दुई वटा परियोजनामा ४२ करोड, सिङ्गापुरबाट तीन वटा परियोजनामार्फत एक अर्ब ४१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । युनाइटेड अरब इमिरेट्सबाट दुई वटा परियोजनामार्फत ५० करोड रुपियाँ, नेदरल्यान्डबाट तीन वटा परियोजनमा ११ करोड ४४ लाख रुपियाँ, भियतनामबाट दुई वटा परियोजनामार्फत ३० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा प्रमुख शङ्करसिंह धामीले ११ महिनामा चीन र कोरियाबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको जानकारी दिनुभयो । सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आउने गरेका छन् ।

चालु आवको ११ महिनामा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजजन्यमा तीन र ऊर्जामा एकमा विदेशी लगानी आएको छ । ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २१८ परियोजनामा चार खर्ब ९४ अर्ब ३६ करोड ९७ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत वैदेशिक लगानी नेपाल भित्रिने गरेको बताइएको छ ।

स्वचालित मार्गबाट ११ अर्ब वैदेशिक लगानी

स्वचालित मार्गबाट ११ अर्ब १८ करोड वैदेशिक लगानी स्वचालित मार्गबाट भित्रिएको छ । डेढ महिनाको अवधिमा स्वचालित मार्गबाट सो रकम भित्रिएको विभागले जनाएको छ । गत वैशाखमा भएको लगानी सम्मेलनमार्फत स्वचालित मार्गबाट लगानी स्वीकृत हुने प्रणालीको कार्यान्वयन आएको थियो । स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

२०८० असोज १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ५० करोड रुपियाँसम्म कुल पुँजी भएका विदेशी लगानीका परियोजना अब अनलाइनबाट स्वीकृत गर्ने निर्णय भएको थियो । सोही अनुसार स्वचालित मार्गबाट लगानी भित्र्याउने कार्यक्रम गत वैशाख महिनादेखि कार्यान्वयनमा आएको थियो ।

यसअघि विदेशी लगानीकर्ताले लगानी प्रस्ताव गर्न र स्वीकृति लिन विभिन्न देशबाट उद्योग विभागमा भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था थियो । विदेशी लगानी स्वचालित मार्गबाट कार्यान्वयन भएपछि लगानीकर्ताका लागि सहज भएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button