खबरहेड लाइन

बाढीपहिरोको जोखिममा हिमाली बासिन्दा

चाँदनी हमाल

काठमाडौँ । अविरल वर्षाका कारण हिमाली भेगका बासिन्दा पनि बाढीपहिरोसहितका प्राकृतिक विपत्को उच्च जोखिममा परेका छन् ।

हिमाली भेगमा भएको वर्षाका कारण हिमपहिरोपछि आएको बाढीले मानवीय क्षतिका साथै बाढीले बस्ती नै डुबानमा पार्न थालेपछि जोखिम बढेको हो । मनाङको मस्र्याङ्दी नदीमा बाढी आउँदा नासों गाउँपालिका–१ स्थित तटीय गाउँ तालगाउँ डुबानमा परेको छ ।

मस्र्याङ्दीको बाढीले पटक पटक बस्ती बगाउन थालेपछि २०७८ सालमा बस्ती जोगाउन नदी किनारमा पक्की पर्खाल बनाइएको थियो । यस पटकको बाढीले त्यो पक्की पर्खाल भत्काउँदै बाढी बस्तीभित्र पसेको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ठुलो बाढीले पर्खालको जग खुकुलो बनाएकाले बिहान पर्खाल भत्केर गाउँमा बाढी पसेको हो ।” सो क्षेत्रमा ठुलो वर्षा नभए पनि माथिल्लो भेगमा वर्षा हुँदा मस्र्याङ्दीको बाढी गाउँ पसेको उहाँले बताउनुभयो ।

गाउँमा बाढी पसे पनि त्यहाँका बासिन्दा अन्यत्र सरेका छैनन् । पर्खाल भत्किएको क्षेत्रमा बिहानदेखि नै तारजाली हालेर बाढी रोकिएको जानकारी उहाँले दिनुभयो । पहिले लगाएको पर्खालको जग कमजोर भएकाले भत्किएको अनुमान गरिएको छ ।

नदी बगरमै रहेको यो पुरानो बस्ती हो, जहाँ ५७ घरधुरी रहेका छन् । गाउँ जोगाउन लगाइएको पर्खाल भत्किएपछि स्थानीयमा भय र त्रास बढेको छ । जमिनको सतहमाथि झन्डै आठ फिट अग्लाइ रहेको सो पर्खालको करिब एक सय मिटर भाग बाढीले भत्काएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पर्यटकीय महŒवको बस्ती भएकाले अन्यत्र सार्न पनि कठिन छ । सबै जना अन्यत्र सर्न मान्दैनन् र गएका पनि व्यापार व्यवसायकै लागि फर्केर आउन बाध्य छन् । जसका कारण नदीतटमा अझ पक्की पर्खाल लगाउनुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । बाढीको सिधा धार गाउँतिरै सोझिने भएकाले पक्की तटबन्धको आवश्यकता रहेको स्थानीय बताउँछन् ।

गत सातादेखि परेको वर्षाले मनाङको पर्यटकीय पदमार्गसँगै चार वटाभन्दा बढी पुल बगाएर भौतिक क्षति गरेको छ । बेँसीसहर–चामे सडकखण्डको पक्की पुल, कल्भर्ट र एउटा काठेपुल बगाइसकेको छ । दुधखोलामाथिको काठे पुल पनि बगाएकाले आवतजावतमा स्थानीयले कठिनाइ भोग्नु परेको छ ।

गौरीशङ्कर क्षेत्रमा हिमपहिरोपछि आएको बाढीले दोलखाको रोल्वालिङ खोलामा ठुलो बाढी आयो । पर्यटकीय पदमार्ग क्षेत्रमा रहेको डोडाल गाउँमा बाढी पस्दा तीन घर बाढीले बगाएको थियो, एक जना पर्यटन व्यवसायीको मृत्युसमेत भएको छ ।

मुस्ताङमा पनि बाढी र हिमपहिरोको जोखिम उच्च रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म वर्षा तल्लो भेगमा मात्र भएको छ, माथिल्लो भेगमा वर्षा हुन थालेपछि तीन वटा गाउँ जोखिममा पर्छ ।” मुस्ताङको थासाङ र घरप्चुङ र पासाङ गाउँपालिका बाढीको उच्च जोखिममा छन् ।

हिमाली क्षेत्र छुने ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, जाजरकोट, पश्चिम रुकुम, बाजुरा, कालीकोट, मुगु, दार्चुलाका उच्च जोखिमका क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अधिक वर्षाले हिमाली भेगमा रहेका सानाठुला ३० भन्दा बढी हिमताल क्षेत्रमा पहिरो जान सक्ने जोखिम मनसुन अवधिभर कायम रहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यस पटक हिमाली भेगमा पनि सरदरभन्दा बढी वर्षा हुने भएकाले विपत्को उच्च जोखिम बढेको छ ।” उहाँका अनुसार जाजरकोट र रुकुम क्षेत्र भूकम्पले गर्दा पहिरोको उच्च जोखिमा छन् । जोखिम कम गर्न केन्द्रबाट टोली पठाएर चिरा पुर्ने, दबाउने र केही बस्ती सार्ने काम गरिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button