मूल खबरहेड लाइन

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसबिच भेटवार्ता

न्युयोर्क। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी हुनुभएको छ ।

शनिबारै दिउँसो स्थानीय समय अनुसार ३:१५ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ । यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । शनिबार दिउँसो संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नुहुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको ग्यास हाउस अन पार्कमा शनिबार आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रम सचिवालय

यसैबिच शनिबार साँझ नै राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ । क्यानडामा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा शनिबारै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९:४५ बजे न्युयोर्क आइपुग्नुभएको थियो । यहाँ बस्नुभएको होटल ग्रान्ड ह्यायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्य दूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायतले भेट गर्नुभएको थियो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button