
बिर्तामोड । सेवाग्राहीसँग घुस लिएको आरोपमा बुद्धशान्ति गाउँपालिका वडा नं २का अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको अवस्थामा मंगलबार पक्राउ परेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का प्रदेश कमिटि सदस्य अर्जुन पाण्डेका अनुसार सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडा अध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । आफूहरूको स्ट्रिङ अपरेशन चलाएर वडा अध्यक्ष ओलीलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स बाहिरबाट दिउँसो करिब १ बजे घुस रकमसहित पक्राउ गरेको सो पार्टीका नेता सुमनसिंह पौडेलले जानकारी दिए ।पक्राउ परेका ओलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान इटहरीको टोली आउन लागेको उनले बताए । घटना विवरण अनुसार भारतीय नागरिक अमरनाथ चौहानले बुद्धशान्ति गाउँपालिकामा आफ्नो व्यवसाय सञ्चालनका लागि स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए ।
चौहानले बुद्धशान्तिमा जग्गा खरिदका लागि घिमिरेलाई भारतीय रुपैयाँ १४ लाख ५० हजार अर्थात् नेपाली रुपैयाँ २३ लाख २० हजार दिएका थिए । सोही रकम बमोजिम घिमिरेले बुद्धशान्ति ५ मा जग्गा खरिद गरेका थिए । पछि घिमिरेले भारतीय नागरिक भएकोले चौहानलाई धोका दिएर जग्गामा आफ्नो नाममा दर्ता गराएका थिए । चौहान पीडित भएपछि न्यायका लागि बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालय पुगेका थिए ।
वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता वा जग्गा नामसारी गरिदिने सर्तमा लिखित कागज गराएका थिए ।पाण्डेका अनुसार सो कागज वडा अध्यक्ष डिल्लीप्रसाद ओलीकै रोहबरमा २०८० साल चैत १ गते गराइएको थियो । कागजमा चौहानले घिमिरेलाई दिएको २३ लाख २० हजार रकममध्ये घिमिरेले २ लाख २७ हजार ३ सय रुपैयाँ खर्च भएको बताएकोले बाँकी रकम २० लाख ९२ हजार ७ सय रुपैयाँ २०८१ भदौ मसान्तभित्र वडा कार्यालयको रोहबरमा चौहानलाई उपलब्ध गराउने वा खरिद गरिएको जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।
सोही निर्णय बमोजिम घिमिरेले चौहानलाई रकम फिर्ता गर्ने हुँदाहुँदै पछि वडा अध्यक्ष ओलीले पीडित चौहानसँग रकमको बार्गेनिङ गर्न थालेका थिए । रकम उपलब्ध गराइदिने सर्तमा वडा अध्यक्ष ओलीले चौहानसँग एक लाख भारु मागेका थिए । चौहानले त्यत्रो रकम दिन नसक्ने भनेपछि वडा अध्यक्ष ओलीले उल्टै उनलाई धाकधम्की दिँदै आइरहेका थिए । आफू पीडित भएकोले ५० हजार भारु मात्र दिन सक्ने भनेपछि वडा अध्यक्ष ओली उनका कुरामा सहमत भए ।
तर, चौहान आफू पीडित भएको कुरा नेकपा(विप्लव)का कार्यकर्ताहरुलाई सुनाइसकेका थिए । विप्लवका कार्यकर्ताहरूले नै चौहानलाई बोलाएर रकम दिन लगाएर वडा अध्यक्ष ओलीलाई घुससहित पक्राउ गरिएको पाण्डेले जानकारी दिएकाछन् ।



