कृषि र किसानखबरहेड लाइन

महत्त्व नबुझ्दा खेर जाँदै एजोला

केशब राज पौडेल

काठमाडौँ । गाउँठाउँमा प्रशस्त पाइने नाइट्रोजनको स्रोत एक विशेष प्रकारको लेउ जस्तै देखिने एजोला प्रयोग विधिबारे ज्ञान नहुँदा नेपाली किसानले वार्षिक करोडौँ रुपियाँ नोक्सानी बेहोरिरहेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले एजोलालाई कृषकको साथी भनेर प्रमाणित गरिसके पनि यसको महत्वबारे किसान सुसूचित नहुँदा प्रयोग आम्दानीको राम्रो स्रोत गुम्न पुगेको हो । विज्ञका अनुसार उनिउँ प्रजातिमा पर्ने एजोलाको प्रयोग खेतीसँगै पशु आहारका रूपमा प्रयोग गर्न सकिन्छ ।

कृषि वन स्रोत केन्द्रका अनुसन्धानकर्ता किरण खरेलले एजोलामा प्रशस्त मात्रामा प्रोटिन, एमोनो एसिड, भिटामिन, वृद्धिवर्धक रसायन, मिनरल्स, क्याल्सियम, पोटासियम, कपर, फलाम हुने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले धान खेतीमा प्रयोग भएको युरियाको मात्रा ४० प्रतिशत कम गराउन एजोलाको भूमिका हुन्छ ।

विश्व खाद्य संस्थाको अनुसन्धान अनुसार एजोला पिनाटा र एजोला फिलिकुलोइड्स नेपालका पोखरी र दबदबे जग्गामा धेरै पाइन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक विष्णुहरि अधिकारीले धान रोपाइँदेखि बाला लाग्ने समयसम्म दुई पटक एजोलाको प्रयोग गर्नाले धानको उत्पादनमा करिब ४० प्रतिशतले वृद्धि भएको तथ्य आफ्नो जर्नलमा प्रस्तुत गर्नुभएको छ ।

धान खेती अध्ययनकर्ता एवं कृषि प्रसार अधिकृत कृष्ण धितालले कोसेबालीले भन्दा एजोलाले करिब तीन गुणा बढी नाइट्रोजन फिक्सेसन गर्ने बताउनुभयो । उहाँका अनुसार एजोला लगाउन सजिलो हुने भएकाले यसको उपयोग कृषकले सहजै गर्न सके पनि यसको महत्व किसानसँग पुग्न सकेको छैन । उहाँले विशेषतः अर्गानिक खेतीमा लाग्नुभएका कृषि उद्यमीहरूका लागि यो नाइट्रोजनको दरिलो स्रोत बन्न सक्ने प्रस्ट पार्नुभयो ।

धानबारे विश्वभरि अनुसन्धान गर्ने संस्था इरीका अनुसार एजोलाले पानी र माटोबाट पोषण लिन्छ र त्यसमा हुने साइनोब्याक्टेरियालाई उपलब्ध गराउँछ । साइनोब्याक्टेरियाले बदलामा वायुमण्डलको नाइट्रोजन एजोलालाई उपलब्ध गराउँछ । उपयुक्त अवस्थामा एजोलाको वृद्धि एकदमै छिटो हुने गरेको छ । एजोलालाई खेतमा हालेपछि कुहिन्छ र नाइट्रोजन धानलाई उपलब्ध हुने गर्छ ।

कृषि प्रसार अधिकृत धितालले वायुमण्डलको नाइट्रोजन बिरुवाले लिन सक्ने अवस्थामा उपलब्ध गराउनु एजोलाको मुख्य विशेषता भएको बताउनुभयो । एकदमै छिटो बढ्ने र माटो नचाहिने हुँदा एजोलालाई विशिष्ट किसिमको बिरुवा भनिन्छ । एजोलाले अनाबिनालाई चाहिने अक्सिजनरहित वातावरण उपलब्ध गराउँछ । अनाबिनाले एजोलालाई चाहिने नाइट्रोजन उपलब्ध गराउँछ ।

उहाँले पशुको आहाराका रूपमा एलोजालाई प्रयोग गर्न सकिने र पोल्ट्रीको दानामा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँका अनुसार गाईको गोबर र एजोला मिसाई गोबरग्यासमा प्रयोग गर्दा गाईको गोबर मात्रै प्रयोग गरेभन्दा १.४ गुणा बढी ग्यास उत्पादन हुन्छ । यसर्थ गोबरग्यास उत्पादनमा पनि एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोलालाई जैविक इन्धन बनाउन पनि प्रयोग गर्न सकिन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button