खबर

हस्तकलाले बदलियो माछा मार्ने पेसा

घोडाघोडी (कैलाली), पुस २६ गते । बर्दियाको राजापुर नगरपालिका–३ की सिताबी थारूलाई हिजोआज कर्णाली नदीमा माछा मार्ने समयमा घरमै हस्तकला सामग्री बनाउन भ्याइनभ्याइ छ ।

ढकिया बुन्ने परम्परागत सिपलाई परिष्कृत गर्दै सिताबीले दैनिक प्रयोगका सामान बनाउन थालेपछि उहाँले बनाएका सामानको माग बढ्न थालेको छ ।

“पहिले घरको काम सकेपछि कर्णाली नदीमा माछा मार्न जान्थ्यौँ,” उहाँले भन्नुभयो, “एक वर्षयता मलगायत छिमेकी अरू महिला पनि यस्तै सामान बनाउन थालेका छौँ ।”

सिताबीले नदी किनारमा पाइने पुन्जा र मुज (एकप्रकारको खर) बाट ढकियासँगै रोटी राख्ने भाँडो, चिया राख्ने ट्रे, फूलदानी बनाएर बेच्ने गरेको बताउनुभयो ।

सोही स्थानकी दुखुनी थारूको दैनिकी पनि हाते सामग्री बनाउनमै व्यस्त छ । अधिकांश समय माछा मार्न कर्णाली नदीमा बिताउने उहाँले हस्तकलाबाट सामान बनाएर बिक्री गर्न थालेपछि आम्दानी पनि हुन थालेको छ । “१५ दिनको तालिमबाट पहिलादेखि जानेको सिपलाई विभिन्न डिजाइनमा बनाउन सिकेपछि अहिले ती सामानको माग पनि बढेको छ,” उहाँले भन्नुभयो । पहिले हप्तामा पाँच दिन माछा मार्न जाने गरे पनि अहिले हस्तकलाका सामान बनाउन थालेपछि माछा मार्ने फुर्सद नभएको उहाँ बताउनुहुन्छ ।

राजापुरकै नीरमाया थारूले समेत हाते सामग्री बनाएर राम्रै आम्दानी गर्नुभएको छ । ग्राहकको माग अनुसार विभिन्न ढाँचाका सामान बनाएर बेच्ने गरेको उहाँ बताउनुहुन्छ ।

“हामीले बनाएको सामानले मूल्य पाउँछ भन्ने हामीलाई थाहा थिएन,” उहाँले भन्नुभयो, “तालिम लिएर विभिन्न सामान बनाउन जानेपछि ग्राहकले मन पराए । पैसा पनि हामीले भने अनुसार नै पायौँ ।” नीरमाया, दुखुनी र सिताबीजस्तै कर्णाली नदीमा माछा मारेर दिन बिताउने अन्य महिला आफ्नो सिपलाई आयआर्जनको स्रोत बनाएका छन् । उनीहरूले बनाएका सामान खरिद गर्न ग्राहक घरमै पुग्ने गर्दछन् । संलग्न महिलाका अनुसार दुई सय रुपियाँदेखि एक हजार रुपियाँसम्मका सामान बिक्री हुने गरेको छ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र नेपाल सरकारको समन्वयमा मुक्त कमैया महिला विकास मञ्च, सोनाह विकास समाजले ओत संरक्षणका लागि कर्णाली नदीमा आश्रित समुदायको जीविकोपार्जनमा विभिन्न कार्यक्रममार्फत यस्ता सामान बनाउन सिप प्रदान गरिएको जगदीश रानाथारूले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button