खबर

छिमेकीलाई गोली हानी हत्या गर्ने विष्ट पक्राउ

गोली हानी फरार युवकको हत्या गरी फरार रहेका कर्ण विष्ट ५ दिन पछि दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट पक्राउ ।

केशवराज भट्ट

बैतडी, फागुन २४ गते । बैतडीमा लेनदेन विवादमा गोली प्रहार गरी एक युवकको हत्या गरेर फरार भएका कर्ण विष्ट पक्राउ परेका छन् ।

गत शनिवार आफ्नै घरमा रहेको बन्दुकले कर्णको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । गाउँले भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएका विष्टलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

हत्या गरेर फरार भएका कर्णबहादुरलाई भारतीय गाउँबाट पक्राउ गरेर नेपालतर्फ ल्याउने काम भइरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो । लेनदेनका विषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए । हत्यापछि बन्दुकसहित फरार रहेका विष्टको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बल्देब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक गणेश कडायत नेतृत्वको टोली खटिएको थियो ।

कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उहाँले गोली चलाउँदा सुरेन्द्रको हत्या भएको थियो । सुरेन्द्रको हत्यापछि उहाँको परिवार बिचल्लीमा परेको मृतकका दाजु नरेश विष्टले बताउनुभयो । सात महिना अघि मात्रै विवाह बन्धनमा बाँधिनु भएका सुरेन्द्रको हत्यापछि उहाँकी श्रीमती र घरपरिवारलाई निकै समस्या भएको मृतकका दाजु नरेशले बताउनुभयो । अभियुक्त पक्राउ परेपछि अब अनुसन्धानको काम अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button