मूल खबरहेड लाइन

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इलामको श्रीअन्तुमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौं, वैशाख १ गते । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताउनुभएको छ ।

इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवम् पार्टीकै बिरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला । तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो ।” मन्त्री डा. राणाले नेताहरुको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गर्ने अनुभव सुनाउनुभयो ।

उहाँले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको अफूले सुनेको प्रसंग उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठुलो बनाउनुपर्ने छ । अरु पार्टीहरु ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ ।”

मन्त्री डा. राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिनुभयो । उहाँले आफ्ना गुनासा र असन्तुष्टिहरु यसरी भाषण गर्दै हिँड्ने विषय नभएको पनि स्पष्ट गर्नुभयो । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचनमा त झन् कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले यो भन्दा झन् ठुलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्ने उहाँको जोड थियो ।

मन्त्री डा. राणाले नेपाली कांग्रेस पार्टीमा महिलाको धेरै ठुलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन । जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ । पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ ।”

उहाँले त्यस अवसरमा इलाम जिल्लाको बृहत्तर हितका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभएको थियो । नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा र इलाम जिल्ला सभापति डम्बर खड्काले इलामको विकासका लागि संघीय सरकारको सहयोगको अपेक्षा गरेपछि मन्त्री डा. राणाले सो आश्वासन दिनुभएको हो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button