खबर

रूसले ३० दिने युद्धविराममा सहमति जनाए मात्र वार्ता सम्भवः युक्रेन

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यदि रूसले ३० दिनको युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार हुने बताउनु भएको छ । साथै उहाँले मे १५ मा इस्तानबुलमा वार्ता हुन सक्ने सङ्केत समेत दिनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले तीन वर्षअघि सुरु भएको युद्धयता पहिलोपटक रूसबाट केही सकारात्मक सङ्केत देखिएको बताउनुभयो । उहाँले यसलाई शान्तिको दिशामा प्रारम्भिक पाइला भएको उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभयो, “एक दिनका लागि पनि हिंसा जारी राख्नुको अर्थ छैन । यदि रूसले पूर्ण, विश्वसनीय र स्थायी युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार छ ।”

राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहकार एन्ड्री यर्माकले पनि वार्ताका लागि पहिलो शर्त युद्धविराम भएको स्पष्ट पार्दै भन्नुभयो, “पहिला ३० दिनको युद्धविराम, त्यसपछि मात्र अन्य विषयमा छलफल हुनेछ ।”

यता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि वार्ताका लागि मे १५ को मिति प्रस्ताव गर्नुभयो । तर, उहाँले युक्रेन र उसका पश्चिमी सहयोगीहरूद्वारा प्रस्तावित ३० दिने युद्धविरामको मागबारे कुनै प्रत्यक्ष प्रतिक्रिया जनाउनुभएको छैनन् ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button