खबर

पर्यटन गन्तव्य बन्दै कुलपानी

घोराही, वैशाख ३० गते । दाङको गढवा गाउँपालिका–१, बडहरामा रहेको कुलपानी हरित पार्क पछिल्लोसमय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी समुदायिक वन समूहले पर्यटन प्रवर्धनका लागि हरित पार्क, जलाशयसँगै काठको भ्युटावर निर्माण गरेपछि आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास भएको हो ।

वन समूहले कृत्रिम जलाशयसँगै पार्क निर्माण गरेर बाघ, गैँडा, जरायो, घोडा, मयुरलगायतका विभिन्न प्रजातिका चराहरूको प्रतिमा बनाएपछि पार्कमा घुम्न र पिकनिकका लागि आउने मानिसको सङ्ख्या बढेको वन समूहका अध्यक्ष नवराज शर्मा बताउनुहुन्छ ।

कुलपानीमा पर्यटकलाई आकर्षण गर्ने गरी पार्कसँगै पोखरीमा काठको पुल, भ्युटार निर्माणले थप आकर्षण बढाउने काम गरेको बताउनुभयो ।

काठबाट बनेका र देउखुरी क्षेत्रमा मानिसले प्रयोग गरेका लडिया, डुङ्गा, कोल, ढिकी, हलो, जुवा, ठेकीलगायतका परम्परागत सामग्री सङ्कलन गरे पनि राख्ने उपयुक्त ठाउँ नपाउँदा समस्या भइरहेको अध्यक्ष शर्माले बताउनुभयो । “काठको सङ्ग्रहालय स्थापना गर्ने गरी वन समूहले विभिन्न सामग्री सङ्कलन गरेको छ तर ठाउँको अभावमा सञ्चालन गर्न सकिएको छैन,” उहाँले भन्नुभयो । प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै आन्तरिक पर्यटनको विकास गर्नका लागि कुलपानीमा पूर्वाधार विकासका लागि लगानी गर्न आवश्यक रहे पनि त्यस अनुसारको सहयोग प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । लगानी अभावमा बाल उद्यान, जङ्गली पशुपन्छीका लागि खोरसँगै तारबार गर्ने काम गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार वन समूहले पर्यटन प्रवर्धनका माध्यमबाट एक वर्षको अवधिमा १० लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ । वन समूहले पार्क घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकबाट गएको साउनदेखि चैतसम्म टिकटबाट पाँच लाख ११ हजार, पार्कमा फोटो खिन्ने क्यामरा प्रयोग गर्ने व्यक्तिबाट एक लाख २८ हजार, डुङ्गा सञ्चालनबाट एक लाख २३ हजार, पिकनिकका लागि भाडा प्रयोगबाट ८० हजारलगायत साउन्ड सिस्टम प्रयोगलगायतबाट एक वर्षको अवधिमा १० लाख ८० हजार ४५६ रुपियाँ आम्दानी गर्न सफल भएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

उहाँका अनुसार हालसम्म ५१ हजारभन्दा बढीले अवलोकन गरेको छन् । पार्कमा घुम्न आउनेसँग २० देखि ३० रुपियाँसम्म लिने गरिएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button