खबरहेड लाइन

बाह्य सम्पर्कले जोखिममा आदि–संस्कृति

फाइल तस्बिर

बाह्य समाजमा घुलमिल हुन थालेपछि राउटे असुरक्षित र जोखिममा पर्न थालेकाले राउटे बस्तीमा दिनभर नजिकैको प्रहरी पोस्टबाट सुरक्षा दिनुपर्ने तत्काल आवश्यकता रहेको छ ।
ललित बसेल

सुर्खेत, असार १२ गते । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको सांस्कृतिक अस्तित्व र जनजीवन असुरक्षित हुन थालेको छ । बाह्य समाजमा घुलमिल हुन थालेपछि उनीहरूको सांस्कृतिक अस्तित्व र जनजीवन असुरक्षित हुन थालेको हो।

अहिले राउटे समुदाय वीरेन्द्रनगर नगरपालिका–१३ को चन्द्रपुर जङ्गलमा बस्दै आएका छन् । उनीहरूको अवस्था जोखिममा पर्न थालेपछि राउटे बस्तीमा सुरक्षाको माग गरिएको छ । राउटे समुदायका शिक्षक दुर्गा खड्काले बाह्य समाजमा घुलमिल हुन थालेपछि राउटे असुरक्षित र जोखिममा पर्न थालेकाले राउटे बस्तीमा दिनभर नजिकैको प्रहरी पोस्टबाट सुरक्षा दिनुपर्ने तत्काल आवश्यकता रहेको जनाउनुभयो ।

विभिन्न सहयोग गर्ने नाममा र अन्य गतिविधिका लागि राउटे बस्तीमा पुगी अवाञ्छित गतिविधि गर्ने क्रम बढेपछि राउटेहरू असुरक्षित हुन थालेको उहाँको भनाइ छ । राउटे समुदाय सोझो समुदाय भएकाले पैसा पाउने लोभमा सहजै जे पनि गर्ने हुँदा र त्यसको फाइदा अरूले उठाउन खोजेपछि असुरक्षा बढ्दै गएको हो । राउटेहरू जहाँ बस्ती सर्छन्, त्यहीँ नजिकको प्रहरीबाट सुरक्षा व्यवस्था मिलाइदिन राउटे समुदायका शिक्षक खड्काले आग्रह गर्नु भयो ।

पछिल्ला वर्षमा राउटे युवायुवतीसँग फोटो खिच्ने, टिकटक बनाउने जस्ता गतिविधि बढ्न थालेका छन् । राउटे समुदायलाई नागरिकता प्रदान गरेको दैलेखको गुराँस गाउँपालिका–८ का वडा अध्यक्ष दीपेन्द्र वलीले अहिले राउटेलाई परिवर्तन गर्ने लहर चलेकामा अपात्ति जनाउँदै उनीहरूलाई राउटेकै रूपमा रहन दिन आग्रह गर्नुभयो ।

पहिले बाह्य समाजभन्दा अलग्गै जङ्गलका बिचमा बस्ने, पैसा छोए पाप लाग्छ र बाह्य मानिससँग बोल्न गाह्रो मान्ने राउटे समुदाय अहिले सहरबजारनजिकका गाउँमा बस्न थालेका छन् । हाकाहाकी पैसा माग्ने गर्छन् ।

छुट्टै कानुनको तयारी

यता राउटे समुदायको मौलिकता र पहिचानलाई संरक्षण गर्न कर्णाली प्रदेशले छुट्टै कानुन बनाउने तयारी गरेको छ । मदिराको अत्यधिक सेवन र बाह्य नागरिकको हस्तक्षेपका कारण राउटे समुदायको अस्तित्व नै सङ्कटमा पर्न थालेकाले कर्णाली प्रदेशले छुट्टै कानुन बनाउने तयारी गरेको हो ।

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले राउटे संरक्षणका लागि छुट्टै कानुन बनाउने गृहकार्य थालेको छ । कानुन बनाउनका लागि समितिले राउटे समुदायको क्षेत्रमा क्रियाशील सरोकारवाला पक्षसँग सुझाव सङ्कलन गरेको छ । समितिका सभापति पूर्णबहादुर खत्रीले राउटेको संरक्षणका लागि उनीहरूको अवस्थाको अध्ययन गरी कानुन बनाउने तयारी गरिएको जानकारी दिनुभयो । त्यसका लागि अहिले सबै पक्षसँग सुझाव सङ्कलन भइरहेको र त्यसैका आधारमा राउटेको संरक्षणका लागि कानुन बनाइने उहाँको भनाइ छ ।

कार्णली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दिनदिनै राउटेको जनसङ्ख्या घटिरहनु चिन्ताजनक विषय भएको बताउनुभयो । उहाँले राउटेका नाममा बजेट खर्च भइरहेकाले अब एक कार्यदल बनाएर उनीहरूको सबै पक्षको अध्ययन गरी त्यसपछि संरक्षणका लागि कदम चालिने बताउनुभयो ।

राउटेमा रहेको कुलत हटाउन जरुरी रहेकाले उनीहरूको राम्रो पक्षको पनि उजागर गर्नुपर्ने उहाँको भनाइ छ । राउटे समुदायसँग काम गर्ने सङ्घसंस्था, मानव अधिकार आयोगलगायतको सहभागितामा राउटे समुदायको समस्या र आगामी दिनमा संरक्षणका लागि गर्नुपर्ने अध्ययनका लागि कार्यदल बनाएर काम गर्न सकिने मन्त्री भण्डारीले बताउनुभयो ।

खुला प्रवेश रोक्न माग

सरोकार पक्षहरूले राउटे समुदायको भाषा र वेशभूषामा बाह्य समुदायको हस्तक्षेप रोक्नुपर्ने, बस्तीमा बाह्य नागरिक खुला प्रवेशलाई रोक्नुपर्ने, सबै सेवा उपलब्ध हुने गरी राउटे बस्तीमै एकीकृत घुम्ती शिविर राख्नुपर्ने र बस्तीमा अस्थायी प्रहरी चौकी राखेर सुरक्षा दिन सक्ने गरी कानुन बनाउनु सुझाव दिएका छन् । अहिले राउटेको जनसङ्ख्या १३४ जना रहेको छ ।

सिप र खाद्यान्न

सामाजिक सुरक्षा भत्ताका रूपमा नगद दिँदा राउटे समुदाय मदिरा र सुर्तीको कुलतमा परेको हुँदा अब नगदको सट्टा सिप र खाद्यान्न दिनुपर्ने आवाज उठेको छ । मध्यपश्चिम विश्वविद्यालयका सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चारका विभागीय प्रमुख एवं मानवशास्त्री खगेन्द्र अधिकारीले राउटेलाई नगद दिँदा त्यसको दुरुपयोग बढेकाले राउटेलाई अब उनीहरूको भाषा, कलाको विकास गर्न सिप र खाद्यान्न जस्ता सामग्री दिनुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब राउटे समुदायलाई सिधै नगद दिने होइन, नगदको सट्टा उनीहरूको सिप विकास गर्ने र खाद्यान्न जस्ता सामग्री दिनु पर्दछ, अनि मात्र उनीहरू कुलतबाट जोगिन सक्छन् ।” यदि जङ्गलमा बस्न दिने हो भने उनीहरूको समस्या बुझ्ने, सुरक्षा दिने, काठ काटेर सामग्री बनाउने जस्ता विषयमा सहजीकरण गरिदिनुपर्ने मानवशास्त्री अधिकारीले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button