कृषि र किसानखबर

लगातारको हिमपातले याकचौँरी पालनमा असर, किसानहरुलाई समस्या

नविन अंकुर, मनाङ
मनाङ- नेपालका उच्च हिमाली जिल्लाहरूमा परेको लगातारको हिउँपातले याक र चौँरी पालनमा गम्भीर असर परेको छ।

मनाङ, मुस्ताङ, डोल्पा र मुगुका खर्कहरू सेतो हिउँले ढाकिएपछि चौँरीहरूले घाँस र दाना पाउन नसकेका कारण अनेक समस्या देखिएका छन्। स्थानीय किसानहरूका अनुसार यस वर्ष अकस्मात हिउँ परेको हो ।

अकस्मात् परेको बाक्लो हिउँका कारण चौँरी चराउने ठाउँ पूरै हिउँले ढाकिएको छ। घाँस र पानी नपाउँदा चौँरीहरू कमजोर बन्दै मर्ने क्रम समेत सुरु भएको किसानहरूको गुनासो छ।

मनाङका किसान तेन्जिङ लामाले भन्नुभयो, “योपाली हिउँ छिट्टै पर्‍यो, चौँरीहरूलाई घाँस पनि छैन, दाना ल्याउन बाटो नै बन्द छ।” यसरी निरन्तर हिमपात हुँदा किसानहरूको मुख्य आम्दानीको स्रोतसमेत जोखिममा परेको छ।

याकचौँरी पालन हिमाली जीवनको पहिचान मात्र होइन, आयआर्जनको प्रमुख माध्यम पनि हो। तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिमपात र सुख्खा समय अनियमित हुँदै गएको छ।

यसले पशुपालनमा गम्भीर असर पारिरहेको विज्ञहरूको भनाइ छ।

पशु सेवा विभागका अनुसार, “हिउँपातपछि चौरीको स्वास्थ्य र पोषणका लागि तत्काल राहत र दाना सहयोग आवश्यक छ, ढिलाइ भए ठूलो क्षति हुन सक्छ।”

सरकारले भने प्रभावित किसानहरूलाई सहयोग गर्न तयारी भइरहेको जनाएको छ। तर हिमाली किसानहरूका अनुसार राहत पुग्न समय लाग्ने र तत्कालिन संकट समाधान गर्न कठिन भइरहेको छ।

याकचौँरी पालनमा परेको यो संकटले हिमाली क्षेत्रको आर्थिक र सांस्कृतिक दुवै जीवन प्रभावित बनेको छ। हिमपातले चौँरी मात्र होइन, सम्पूर्ण हिमाली जीवनशैलीमै संकट ल्याएको किसानहरूको गुनासो छ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button