खबर

जेनजी आन्दोलनमा बगेका रगत र बलिदान खेर जाला कि भन्ने चिन्ता

वीरेन्द्र ओली

काठमाडौँ, कात्तिक २१ गते । दैलेख नायरायण नगरपालिका–८ का प्रकाशबहादुर बोहरा वीर अस्पतालको ट्रमा सेन्टरको बेड नम्बर २२१ मा दुई महिनादेखि उपचारत हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनमा देब्रे खुट्टाको तिघ्रामा गोली लागेर घाइते हुनुभएका २८ वर्षीय बोहोरालाई उपचार भइरहँदा आफ्नो ज्यानभन्दा बढी आन्दोलनमा बगेका रगत र बलिदान खेर जाला कि भन्ने चिन्ता छ ।

देशमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, घुसखोरी, नातावाद र कृपावादले सीमा नाघेको देखेर आन्दोलनमा होमिनुभएका बरालले स्वदेश तथा विदेशमा जीवनमा अनेक हन्डर र ठक्कर खानुभएको छ । बोहरा पुनः विदेश जाने तयारी गरेका बेला आन्दोलन घोषणा भएपछि आफू पनि सहभागी भएको बताउनुहुन्छ ।

“मलाई पोलिटिक्स गर्न आउँदैन । सबै कुरा बुझ्छु । ठिक/बेठिक छुट्याउन सक्छु । पोलिटिक्स कुन ठाउँमा कसरी गर्ने अनि कहाँ बोल्ने जान्दिनँ,” उहाँले भन्नुभयो, “नेपालमा हरेक क्षेत्रमा भ्रष्टाचार, अनियमितता, घुसखोरी देखिन्छन् । भ्रष्टाचारका काण्डै काण्डका कुरा त्यो पनि आज होइन धेरै पहिलेदेखि सुन्दै आएको छु । हामी जन्मिनुभन्दा अघिदेखि शासन गर्नेबाट सुन्न थालेको हो । अझै उनैले शासन गर्दै छन् ।” देश कछुवा गतिमा हिँडिरहेको देख्दा स्वदेश मात्रै होइन, विदेशमा हुँदासमेत नसानसामा तातेर रगत उम्लिने गरेको उहाँले बताउनुभयो ।

तिघ्रामा गोली लागेर हिँड्न नसक्ने अवस्थामा रहनुभएका प्रकाशको चिकित्सकले सुरुमा खुट्टै काट्नुपर्ने सुझाव दिएका थिए । अपरेसन गरेपछि दुई/तीन महिनामा सामान्य हुन सक्ने आश्वासन पाएको उहाँले बताउनुभयो ।

लडाइँ जारी राख्ने वाचा

उहाँले जेनजीका माग सामान्य भएकाले पूरा नहुँदासम्म लडाइँ जारी राखिने बताउनुभयो । “जेनजी आन्दोलनमा शहादत हुने सबैलाई सहिद घोषणा गर्नुप¥यो । साथै २३ सयभन्दा बढी घाइते हुनुभएको छ । सबैको आजीवन उपचार र रोजगारी ग्यारेन्टी गर्नुप¥यो । योग्यताबमोजिम रोजगारी दिलाउनु पर्छ,” उहाँले भन्नुभयो, “हाम्रा साथीहरू घाइते अवस्थामा हुँदाहुँदै अस्पतालबाट डिस्चार्ज गरिएको छ। कतिपय घाउ कुहिएर बस्नुभएको छ । यसमा राज्यले ध्यान दिएको छैन ।” जेनजीको उपचार निःशुल्क भनिए पनि अनेक बहानामा औषधीदेखि लिएर बसाइ र खानामा धेरै खर्च भएको उहाँले सुनाउनुभयो ।

जेनजी आन्दोलनलाई वैधानिकता नदिएकाले संस्थागत हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । जेनजीकै सरकार भए पनि आन्दोलनलाई संस्थागत गर्ने तथा मुद्दा स्थापित गर्न नसकिएको उहाँको धारणा छ । देशमा भ्रष्टाचार अनियमितता निर्मूल पार्न संविधान संशोधन गरेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेशहरू खारेज हुनुपर्ने उहाँले माग राख्नुभयो । “प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, उच्चपदस्थ कर्मचारी सबैको सम्पत्ति छानबिन हुनु पर्छ । यो २०४६ सालयता राजकीय पदमा बसेका नेता र कर्मचारी सबैको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारी देखिए कारबाही गरेर सम्पत्ति राष्ट्रियकरण हुनु पर्छ,” उहाँले भन्नुभयो ।

एचएदेखि रसियन आर्मीसम्म

हेल्थ असिस्टेन्ट अध्ययन गरेका बोहरा सुरुमा भारतीय सेनामा भर्ती हुने सोचमा हुनुहुन्थ्यो । “मैले २०७३ मा एचए पूरा गरेपछि लोकसेवा तयारीमा लागेँ । पाँच वर्षसम्म तयारी पनि गरेँ । स्वास्थ्यका लागि समायोजन भनेर तीन वर्ष खुल्दै खुलेन । समायोजनलगत्तै कोभिड आएपछि दुई वर्ष बन्द भयो,” उहाँले भन्नुभयो, “एचए पूरा गरेको चार/पाँच वर्ष भएपछि सङ्घ संस्था र प्रोजेक्टमा जागिर गरियो । अन्तिममा दैलेख कारागारको स्वास्थ्य शाखामा पाँच महिना करारमा काम छाडेर देशबाहिर जाने योजना बनाएँ ।”

विदेश जाने सिलसिलामा सेनामै सोख भएकाले पैसा कमाउन रसियन आर्मीमा भर्ती हुन पुगेको उहाँले जानकारी दिनुभयो । रसियन आर्मीमा १८ महिना काम गरेर फर्किएका उहाँ ती कहालीलाग्दा दिनहरू सम्झिन पनि चाहनुहुन्न ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button