
केशवराज पौडेल
काठमाडौँ, वैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा देशभरका कम्युनिस्ट पार्टीले बुधबार विविध कार्यक्रम आयोजना गर्दै छन् । विभिन्न उतारचढाव पार गर्दै आएको नेपालको कम्युनिस्ट आन्दोलनले पछिल्लो आमनिर्वाचनपछि ठुलो धक्का खाएको छ ।
कम्युनिस्ट पार्टीहरूले संसदीय राजनीतिमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्न नसक्दा तथा नेतृत्वको उच्च महत्वाकाङ्क्षाका कारण अहिलेको अवस्था आएको पुराना कम्युनिस्ट अगुवा रामप्रसाद अधिकारीले बताउनुभयो । “‘नेताभित्रको अह्मता र गल्ती गरेपछि माफी माग्नु पर्दैन भन्ने अतिवादी चिन्तनले कम्युनिस्ट पार्टी पछिल्लो नतिजा स्विकार्न बाध्य भएको हो,” उहाँले थप्नुभयो, “सच्चिने वा सक्किने भन्ने अवस्थामा कम्युनिस्ट आन्दोलन पुगेको छ ।”
विसं २००६ मा पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापना भएको कम्युनिस्ट पार्टीमा फुट र एकताको शृङ्खला अझै रोकिएको छैन । यसले पार्टी मात्र नभई समग्र आन्दोलनलाई नै कमजोर बनाएको ज्येष्ठ नेताको भनाइ छ । अहिले नेपालमा कति वटा कम्युनिस्ट पार्टी छन् भन्ने यकिन सङ्ख्यासमेत गर्न कठिन भएको उनीहरूको दाबी छ ।
स्थापनाकालदेखि नै विचार र नेतृत्वगत विवादमा परेको कम्युनिस्ट आन्दोलनमा एकता र विभाजनको चक्र निरन्तर दोहोरिँदै आएको छ । पुष्पलाल श्रेष्ठले २००५ चैत २३ गते ‘कम्युनिस्ट घोषणापत्र’ को नेपाली अनुवाद प्रकाशित गर्नुभएको थियो भने २००६ वैशाखमा भारतको कोलकातामा पार्टी स्थापना भएको मानिन्छ ।
पार्टीका संस्थापकमा पुष्पलाल श्रेष्ठसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी रहेका थिए । २०१९ सालमा केशरजङ्ग रायमाझीको भूमिकाबाट पहिलो ठुलो विभाजन भएको थियो । त्यसयता फुट र एकताको क्रम जारी छ ।
निर्वाचन आयोगमा हाल कम्युनिस्ट नाममा दर्ता भएका पार्टी १४ वटा छन्; जुन कुल दलको १०.२९ प्रतिशत हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले “कम्युनिस्ट पार्टी नामको पसल खोल्ने प्रवृत्ति नरोकिएको” टिप्पणी गर्नुभयो । यसैबिच नेपालका पुराना र ठुला कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले ) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रबिच पुनः एकताको चर्चा चुलिँदै गएको छ ।
एमाले नेता प्रदीप ज्ञवालीले तत्काल वाम एकताभन्दा पनि आत्मसमीक्षा, सुधार र पुनर्गठन आवश्यक रहेको बताउनुभयो । उहाँले वर्तमान चुनौती केवल कम्युनिस्ट आन्दोलनभित्र सीमित नरहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय र संस्थागत व्यवस्थामाथि समेत दबाब बढ्दै गएको उल्लेख गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले प्रमुख वामपन्थी दल सुधारिए दुई वर्षभित्रै एकता सम्भव हुने धारणा राख्नुभयो । उहाँले माओवादी केन्द्रले माओवाद र एमालेले व्यक्तिपूजाबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो । कम्युनिस्ट आन्दोलनभित्र देखिएको विभाजन, वैचारिक अस्पष्टता र नेतृत्वगत टकरावबिच ७७ औँ स्थापना दिवस मनाइँदै गर्दा आत्मसमीक्षा र पुनर्गठनको आवश्यकता झनै प्रस्ट हुँदै गएको पुराना वामपन्थी विश्लेषक रामहरि नेपालले उल्लेख गर्नुभयो । उहाँले स्थापना दिवस ऐतिहासिक भए पनि मूल उद्देश्य पूरा हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
एमालेबाट फुटेर बनेको नेकपा समाजवादी अनि त्यसपछि पुनः एकीकरण भएर बनेको कम्युनिस्ट पार्टीका पछिल्ला अवस्थालाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने पार्टीबिच कसैसँग पनि वैचारिक र सैद्धान्तिक मतभेद पाइँदैन । केवल व्यक्तिगत बदलाको भाव प्रस्ट झल्किन्छ ।
गत फागुनमा भएको आमनिर्वाचनपछि सबैको आआफ्नो हैसियत पनि प्रदर्शन भइसकेको अवस्था छ । परिणामस्वरूप एमाले दोस्रो ठुलो दलबाट तल झरेर सानो दलका रूपमा तेस्रो दल बन्न पुगेको छ । धेरैै दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी खुम्चिएर सानो आकारको चौथो दल बनेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



