सृजनाको चौतारीहेड लाइन

आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्तीमा साहित्यिक सम्मान र स्रष्टाको गौरव

भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाद्वारा तीन राष्ट्रिय पुरस्कार प्रदान, युवा कवि तथा स्रष्टा सम्मानित

मेचीनगर। आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा झापाको काँकरभिट्टामा आयोजित विशेष साहित्यिक समारोह भव्य रूपमा सम्पन्न भएको छ। भानु साहित्यिक प्रतिष्ठान, काँकरभिट्टाले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका विविध आयामलाई समेट्दै पुरस्कार वितरण, कृति लोकार्पण, कविगोष्ठी र विचार विमर्शका कार्यक्रम सम्पन्न भएका हुन्।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा. डा. भीम खतिवडा (धरान) प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्य, मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकी, पूर्वनगरप्रमुख विमल आचार्य, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, आख्यानकार पुण्यप्रसाद खरेल, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, दुर्गाप्रसाद सापकोटा लगायतको विशिष्ट उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भ प्रतिष्ठानका उपाध्यक्ष सुशील आचार्यको स्वागत मन्तव्यबाट भएको थियो भने महासचिव लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको थियो। काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक दामोदर ढुङ्गेलले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र नेपाली भाषा–साहित्यमा उहाँको योगदानबारे प्रकाश पार्दै नयाँ पुस्ताले भानुभक्तको आदर्शलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यसै अवसरमा हाल बेलायतमा अध्ययनरत स्रष्टा प्रस्तुति वस्तीद्वारा अङ्ग्रेजी भाषामा लिखित कविता सङ्ग्रह ‘Echoes and Eternity’ को प्रमुख अतिथि प्रा. डा. भीम खतिवडाले लोकार्पण गर्नुभयो। उक्त कृतिमाथि सुवर्ण भट्टराईले टिप्पणी प्रस्तुत गर्दै यसको साहित्यिक महत्वमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा असार २७ गते सम्पन्न प्रतियोगितात्मक कविगोष्ठीका उत्कृष्ट स्रष्टाहरूलाई पनि सम्मान गरिएको थियो। प्रतियोगितामा दीपेश राउत प्रथम, निर्मला बाँस्तोला दङ्गाल द्वितीय तथा प्रस्तुति भण्डारी तृतीय हुन सफल भएका थिए। उनीहरूलाई क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

समारोहको मुख्य आकर्षण प्रतिष्ठानद्वारा स्थापना गरिएका राष्ट्रिय पुरस्कारहरूको वितरण रह्यो। यस वर्षको ‘आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार’ साहित्यकार डा. टीका भण्डारीलाई प्रदान गरिएको छ। उहाँलाई रु. १ लाख नगद तथा प्रमाणपत्र प्रदान गरियो।

त्यसैगरी **‘कृष्ण–पवित्रा उप्रेती कला संस्कृति पुरस्कार’**बाट कलाकार पवन राजवंशी सम्मानित हुनुभयो। उहाँलाई रु. २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। ‘हेमराज–मेदनी खरेल साहित्य पुरस्कार’ साहित्यकार टीका भट्टराई नेपाललाई प्रदान गरिएको छ। उक्त पुरस्कारअन्तर्गत उहाँलाई रु. २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

पुरस्कृत स्रष्टाहरूको तर्फबाट डा. टीका भण्डारीले मन्तव्य व्यक्त गर्दै पुरस्कारले स्रष्टालाई अझ जिम्मेवार र सिर्जनशील बन्न प्रेरणा दिने बताउनुभयो। कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारी, साहित्यकार ज्ञानेन्द्र खतिवडा, प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्य तथा प्रमुख अतिथि प्रा. डा. भीम खतिवडाले भानुभक्तको योगदान स्मरण गर्दै पुरस्कृत स्रष्टाहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउने क्रममा दीपा भट्टराईले आदिकवि भानुभक्तका विभिन्न छन्दका कवितांश सुमधुर स्वर र लयमा प्रस्तुत गर्नुभएको थियो भने ‘सप्त समय’ सालबाडी–सिलगढीसँग आबद्ध स्रष्टा मोनिका प्रधानले आफ्ना कविता वाचन गर्नुभएको थियो।

साहित्यकार, पत्रकार, शिक्षाविद्, कलाकार, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यप्रेमी गरी एक सयभन्दा बढीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा नवराज घिमिरे, हरिप्रसाद नेउपाने, प्रेमप्रकाश फलाहारी, हरि पोखरेल, विरही अधिकारी, मोक्ष खतिवडा, सौरभ मैनाली, शिवकुमार पौडेल, दुर्गा अधिकारी भेटवाल, रामचन्द्र उप्रेती, दिलीपजङ सुब्बा, मातृकाप्रसाद सङ्ग्रौला, भगवती ढुङ्गेल, गीता सुवेदी नेपाल, डा. खगेन्द्र दाहाल, कमलप्रसाद भट्टराई, मोहन ठकुरी, लीलबहादुर सोनार, मनिकुमार प्रधान, निर्मल सिन्चुरी, पूर्ण मगर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष डिल्लीराम घिमिरेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यलाई दिएको योगदान सदैव प्रेरणाको स्रोत रहने उल्लेख गर्दै साहित्यिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा तथा साहित्यप्रेमीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button