
अर्जुन पाण्डे
कविता –
अचेल यहाँ मान्छे बोल्दैनन्,
यहाँ त आगो बोल्छ।
जब आवाजहरू पक्राउ पर्न थाल्छन्,
शब्दहरूलाई हतकडी लगाइन्छ, अक्षरहरूको कत्लेआम गरिन्छ।
त्यसपछि मानिस होइन,
आगो बोल्न थाल्छ।
शब्दहरूको भाषा
बुझ्न छोडेपछि,
भोको पेटले छट्पटाउँदै
बाँच्नु परेपछि,
आत्मदाहका श्रृंखलाहरू
एकपछि अर्को गर्दै
सडकको छाती नाप्छन् ।
नदीहरूले पानी होइन,
आँखाका आँसु बगाउँदै छन्।
आकाशमा चराहरू गीत गाउँदैनन्,
जलिरहेको विवेकको कालो धुवाँले
क्षितिज ढाकिएको छ।
यहाँ कलमले होइन,
खरानीले इतिहास
लेखिरहेको देखेको छु।
मानिसको रगतलाई सितन मानेर
भोज गर्नेहरू,
गरिबका छातीहरू नाप्दै
निरंकुशताका बुट बजारिरहेका छन्।
सरकार आफ्नै उचाइमा मस्त छ,
तर भुइँमान्छे
आफ्नो छायाँ सम्म बेचेर
बाँच्न विवश छ।
त्यसैले अचेल मान्छे बोल्दैनन्,
यहाँ त आगो बोल्छ।
खरानी अदालतमा
मूक साक्षी बनेर उभिन्छ।
जब सबै बाटाहरू बन्द गरिन्छन्,
त्यसपछि एउटा सानो झिल्कोले पनि
पूरै युगको बयान दिन्छ।
खबरदार !
मानिसको आवाज थुन्न सकिएला,
तर आगोको भाषा
कुनै कानुनले बन्दी बनाउन सक्दैन।
किनकि
जहाँ शब्दहरू मारिन्छन्,
त्यहीँ बाट
आगो बोल्न सुरु गर्छ।
इतिहासलाई नै खरानी बनाउनेहरूले
यति सम्झिए पुग्छ,
आगो सँग खेल्नु भनेको
आफ्नै छायाँ जलाउनु हो।
जब आगो बोल्छ,
सत्ताको आवरण पोलिन्छ।
झूटका महलहरू ढल्छन्,
खरानी भित्रै बाट
सत्य फेरि अंकुराउँछ।
बुध्दशान्ति २ जयपुर, झापा
२०८३ असार २८



