
कृष्ण आचार्य
काठमाडौँ, असोज १६ गते । महाधिवेशनमा होमिएको नेपाली कांग्रेसमा नेतृत्व चयनको बहसले चर्चा पाउन थालेको छ । कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदै छ । १६ असोजमा निर्धारण गरिएको महाधिवेशन प्रतिकूल मौसमका कारण दुई दिनपछाडि सारिएको हो ।
नयाँ तालिका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार गरिने छ । १९ र २० असोजमा बन्दसत्र तथा असोज २१ र २२ मा निर्वाचन गर्ने गरी कार्यतालिका निर्धारण गरिएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय पदाधिकारी र सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ । जसका लागि नेताहरूले भेटघाट र परामर्श बाक्लो बनाउन थालेका छन् ।
सभापतिमा गगनकुमार थापा दोहोरिने प्रवल सम्भावना छ । विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी पहल गरेका थापालाई १५ औँ महाधिवेशनबाट सभापति बनाउन युवा पुस्ताका नेता सक्रिय देखिन्छन् । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उद्घाटन सत्रदेखि निर्वाचन कार्यक्रमसम्मको तयारीमा सम्बन्धित समिति सक्रिय रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ । “नेतृत्व चयनका लागि सबैभन्दा राम्रो विकल्प सहमतीय आधारमा नेतृत्व चयन गर्नु हो, हाम्रो पहिलो प्रयास त्यसैमा केन्द्रित छ,” घिमिरेले भन्नुभयो ।
उहाँले १५ औँ महाधिवेशनमा आफू महामन्त्री पदमै उम्मेदवारी दिने गरी छलफलमा रहेको जानकारी दिनुभयो । कांग्रेस युवा नेता सांसद निश्कल राईले १५ औँ महाधिवेशनबाट थापाको नेतृत्वमा कांग्रेस थप सशक्त भएर अगाडि बढ्ने बताउनुभयो ।
सबैभन्दा बढी महामन्त्रीमा प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान दुई महामन्त्रीसहित सहमहामन्त्रीहरू उदयशमशेर राणा र बहादुरसिंह लामाको पनि महामन्त्रीमा आकाङ्क्षा छ । नेताहरू नैनसिंह महरलाई डडेलधुरा कांग्रेसले संस्थागत निर्णय गर्दै महामन्त्रीमा अगाडि सार्ने निर्णय गरेको छ । यस्तै नेताहरू देवराज चालिसे, डा. सुनील शर्मा, अमरसिंह पुन, रञ्जित कर्णलगायतको पनि महामन्त्रीमा दाबी छ ।गोरखापत्र दैनिकमा खबर छ ।



