मूल खबरहेड लाइन

उचाइ नपुग्दा पुलमा बढी क्षति

गत भदौ १० गतेको भोटेकोशी बाढीले आधा बगाएको धादिङको घाटबेँसीमा रहेको पुल । तस्बिर : सुजन गुरुङ

भउचप्रसाद यादव

काठमाडौँ, असोज १६ गते । असोज ८ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण देशभरिका पुल तथा झोलुङ्गे पुलमा गम्भीर क्षति पुग्यो । अधिकांश पुलको माथिबाट पानी बगेको देखियो । बाढीपहिरोबाट हिमाली र पहाडी क्षेत्रका पुलमा बढी क्षति पुगेको देखिन्छ ।

यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाइ नपुगेको हो कि ? यो वर्ष नदीको जलसतह बढेको हो कि ? हाम्रो भूगोल र नदीको बहाब क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो ? त्यसै गरी यो वर्षको बाढीपहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुनर्निर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुनर्विचार गर्नु पर्छ कि ? लगायतका प्रश्न खडा भएका छन् ।

पूर्वसचिव इन्जिनियर तुलसी सिटौलाले भदौ १० गतेको भोटेकोशी बाढी र असोजको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट पुगेको क्षतिले अधिकांश पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउँदै अब निर्माण हुने पुलको उचाइ बढाउनुपर्ने बताउनुभयो ।

तराई/मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाडी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढाउनुपर्ने सुझाव दिँदै उहाँले नयाँ पुलको उचाइ कम्तीमा पाँच मिटरसम्म बढाउनुपर्ने निष्कर्षमा यहाँका प्राविधिकसमेत पुगेको जानकारी दिनुभयो । बाढीपहिरोले पुल बगाएको र पुलमाथिबाट पानी बगेका दृश्यले नदीको जलस्तर अनुसार पुलको उचाइ नपुगेको तथ्यलाई प्रस्ट पारेको उहाँले बताउनुभयो ।

पुल डिजाइन गर्दा विगत पचास वर्ष वा एक सय वर्षको अधिकतम बाढीको सतहलाई आधार मान्ने गरिएको भए पनि जलवायु परिवर्तनका कारण अहिले छोटो समयमा अकल्पनीय रूपमा ठुलो वर्षा हुने भएकाले पुराना अनुमान नमिलेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पुलको तल्लो भाग र पानीको अधिकतम सतहबिच सुरक्षित दुरी राखिन्छ । बाढीसँगै बगेर आउने ढुङ्गामुढाले गर्दा नदीको सतह झन् उठ्ने हुँदा राखिएको ‘फ्रिबोर्ड’ अपर्याप्त हुन पुग्छ । पहाडबाट बगेर आउने लेदो, ढुङ्गा र बालुवा नदीको बगरमा थुप्रिँदा नदीको पिँध माथि उठ्छ । पिँध माथि उठेपछि बाढी आउँदा पनि पानी पुलको माथिसम्म पुग्छ ।

अनुसन्धानको अभाव

पूर्वसचिव इन्जिनियर तानुकलाल यादवले पुल निर्माणका लागि सबैभन्दा महìवपूर्ण पक्ष ‘इन्जिनियरिङ अनुसन्धान’ रहे पनि नेपालको सन्दर्भमा हिमाली र पहाडी क्षेत्रमा पुलको डिजाइन गर्दा बाढीको प्रभाव क्षेत्रमा आउने परिवर्तनबारे अनुसन्धान नै नगरी पुल निर्माण गर्ने गरिएको बताउनुभयो । पुलको डिजाइनमा समेत समस्या देखिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यहाँ पुलको डिजाइन गर्दा नदीमा बाढीसँगै आउने लेदो, ढुङ्गा र बालुवालगायत कुनै हिसाब नै गरिँदैन । बाढी मात्र हेरिन्छ । पुल निर्माणको क्रममा यो ठुलो समस्या छ ।” त्यसै गरी अहिले मौसममा आएको परिवर्तनसँगै बाढीको शैली (प्याट्रन) मा परिवर्तन, कमजोर र अपुग अध्ययन, नदीको बढ्दै गएको सतह तथा नदी र पुलबिचको बहाब क्षेत्र कम भएकाले भोटेकोशी बाढी र असोजको बाढीमा धेरै पुलमा क्षति पुगेको उहाँको भनाइ छ । पूर्वसचिव यादवले अब पुल बनाउँदा विगतको तथ्याङ्क मात्र होइन, भविष्यमा आउन सक्ने अति उच्च बाढीलाई अनुमान गरेर उचाइ बढाउनुपर्ने सुझाव दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button