विचारहेड लाइन

रुपान्तरण सहितको पुस्तान्तरण कि केवल अनुहार परिवर्तन ?

अर्जुन पाण्डे

केही लेख्न मन लाग्यो,
लेख्दै जाँदा लामो पनि भयो। कतिपय विषयबस्तु दोहोरिएको हुन सक्छ, उठाउनु पर्ने कतिपय विषयहरु छुटेको पनि हुन सक्छ।
हामीलाई लामो लेख पढ्न अल्छी लाग्छ।
सकेसम्म छोटो रिल हेर्छौँ,
नभए भिडियो त्यो पनि मनोरञ्जन दिने खालको हुनुपर्छ। यस्तो अवस्थामा यति लामो लेख पढेर प्रतिक्रिया दिनु आफैँमा भारी हुन सक्छ। त्यसमाथि सामाजिक सञ्जालमा आफूलाई चित्त नबुझेका कुरा लेख्दा कस्तो प्रतिक्रिया आउने हो भन्ने डरले धेरैलाई आफ्नो धारणा सार्वजनिक गर्न पनि संकुचित बनाउँछ।
तर असहमति भए पनि आफ्नो धारणा राख्न सकिन्छ। आलोचना गरौँ, बहस गरौँ, प्रश्न गरौँ,
तर गालीगलौज र अश्लील टिप्पणीलाई भने स्वीकार नगरौँ।

अब मूल विषयतर्फ जाऔँ।
“रुपान्तरण सहितको पुस्तान्तरण कि केवल अनुहार परिवर्तन ?”

आज कम्युनिष्ट पार्टीहरू भित्र उठिरहेको बहसलाई केवल नेतृत्व परिवर्तनको बहसका रूपमा बुझ्ने कि समग्र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने रुपान्तरण सहितको पुस्तान्तरणको बहसका रूपमा लिने ?
हिजो आज कम्युनिष्ट पार्टीहरू भित्र युवा नेतृत्व, रुपान्तरण सहितको पुस्तान्तरण र नयाँ नेतृत्वको आवश्यकता सम्बन्धी बहस निकै गम्भीर रूपमा उठिरहेको छ।
यो बहस स्वाभाविक पनि हो। समय बदलिएको छ, समाज बदलिएको छ, जनताको चेतना बदलिएको छ।
प्रविधि र सूचना प्रणालीले राजनीतिक संस्कार, संगठनात्मक अभ्यास र कार्यशैली लाई समेत नयाँ ढंगले परिभाषित गरिरहेको छ।
यस्तो अवस्थामा राजनीतिक दल र तिनको नेतृत्व पनि समयको माग अनुसार बदलिनु आवश्यक हुन्छ।
तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ,
केवल उमेर परिवर्तन गर्दैमा पार्टी र आन्दोलनको रुपान्तरण हुन्छ? नयाँ अनुहार आउँदैमा पुरानो प्रवृत्ति पुर्ण रुपमा समाप्त हुन्छ?
निश्चय नै हुँदैन।

त्यसैले आज युवा नेतृत्वको नाममा उठिरहेको बहसलाई यही कोण बाट हेर्न आवश्यक छ।
युवा हुनु आफैंमा परिवर्तनको संवाहक र प्रमाण होइन।
नयाँ पुस्ताको प्रतिनिधि हुनु आफैंमा राजनीतिक इमानदारीको प्रतीक वा प्रमाण पनि होइन।
महत्त्वपूर्ण कुरा के हो भने,
त्यो व्यक्तिले बोकेको राजनीतिक संस्कार कस्तो छ?
उसको विगत कस्तो छ?
उसले अवसर कसरी प्राप्त गर्‍यो?
उसले नेतृत्व सँग सम्बन्ध कसरी बनायो?
संगठन र कार्यकर्ता प्रति उसको व्यवहार कस्तो रह्यो?
आर्थिक तथा राजनीतिक आचरण कति पारदर्शी छ?
उसले आज बोलिरहेको रुपान्तरणका कुरा हिजो आफ्नै जिवन र व्यवहारमा कति लागू गरेको थियो?
यिनै प्रश्नहरूको उत्तर खोज्नु पर्ने समय आएको छ।

हिजो सम्म तिनै पुराना नेताहरूको वरिपरि चक्कर काट्ने, उनीहरू लाई खुसी पार्ने, व्यक्तिगत सम्बन्ध र चाकडीका आधारमा पटक-पटक लाभका पदहरू हासिल गर्ने अनि आज अचानक आफूलाई परिवर्तन र रुपान्तरणको नयाँ संवाहकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति प्रति सजग हुनैपर्छ।

किनकि रुपान्तरणको भाषा बोल्दै पुरानै संस्कार बोकेर हिँड्ने पात्रहरू नै वास्तविक रुपान्तरणका लागि सबै भन्दा ठूलो बाधक बन्न सक्छन्।

राजनीतिमा एउटा गम्भीर समस्या के देखिन्छ भने,
लामो समय सम्म सत्ताको वरिपरि बसेर व्यक्तिगत लाभ लिनेहरू नै समय बदलिँदा आफूलाई परिवर्तनको अगुवा वा नयाँ विकल्पका रूपमा प्रस्तुत गर्न थाल्छन्।
हिजो जुन नेतृत्वको संरक्षण र कृपा बाट अवसर पाए,
आज त्यही नेतृत्वका कमजोरी देखाएर आफूलाई नयाँ विकल्पका रूपमा उभ्याउने प्रयास पनि हुन सक्छ।
यस्तो अवस्थामा कार्यकर्ताले केवल भाषण सुनेर होइन, व्यक्तिको सम्पूर्ण राजनीतिक यात्रा, व्यवहार, योगदान र आचरणलाई हेरेर मूल्याङ्कन गर्नुपर्ने हुन्छ।

अझ गम्भीर विषय आर्थिक पारदर्शिता र राजनीतिक नैतिकताको हो।
चन्दा उठाउने, स्रोत परिचालन गर्ने, त्यसको केही हिस्सा माथिल्लो तहमा बुझाउने र बाँकी रकम व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने जस्ता आरोप वा प्रवृत्ति बारे संगठन भित्र खुला बहस हुनुपर्छ।
यस्ता विषयलाई व्यक्ति विशेषलाई लक्षित गरेर प्रचार गर्ने वा राजनीतिक हतियार बनाउने होइन,
प्रमाण र तथ्यका आधारमा संगठनात्मक रूपमा छानबिन र जवाफदेहिताको विषय बनाउनुपर्छ।
राजनीतिक संगठनमा आर्थिक पारदर्शिता कुनै व्यक्तिको निजी विषय होइन।
यो सम्पूर्ण आन्दोलनको नैतिक प्रश्न हो।
यदि चन्दा, आर्थिक स्रोत, पद र पहुँचलाई व्यक्तिगत लाभको माध्यम बनाउने प्रवृत्तिलाई प्रश्न नगर्ने हो भने भोलि जुनसुकै नयाँ पुस्ता आए पनि पुरानै रोग दोहोरिन सक्छ।

त्यसैले आजको बहस “बुढा हटाऊ, युवा ल्याऊ” भन्ने सरल नारामा मात्र सीमित हुनु हुँदैन। यस्तो भाष्य निर्माण गरेर केही स्वार्थ समूहले कम्युनिष्ट आन्दोलनलाई आफ्नो गुटको हितमा प्रयोग गर्ने खतरा पनि उत्तिकै रहन्छ।
बहस अझ गहिराइमा पुग्नुपर्छ,
कस्तो युवा?
कस्तो नेतृत्व?
कस्तो राजनीतिक संस्कार
कस्तो संगठन?
कस्तो जवाफदेहिता?
कस्तो आर्थिक पारदर्शिता
कस्तो वैचारिक प्रतिबद्धता?
यी प्रश्नहरूको उत्तर खोज्नुपर्छ।
किनकि उमेरले मात्र नेतृत्वलाई नयाँ बनाउँदैन।
अनुहारले मात्र राजनीतिक संस्कार बदलिँदैन।
पदमा नयाँ व्यक्ति पुग्दैमा संगठन नयाँ हुँदैन।
नयाँ सोच, नयाँ कार्यशैली,
दृढ नैतिकता,
विश्वसनीय जवाफदेहिता र सुसंगत राजनीतिक संस्कार स्थापित भएपछि मात्र वास्तविक रुपान्तरण सुरु हुन्छ।

अर्कोतर्फ, पुराना सबै नेता खराब र सबै युवा राम्रा हुन्छन् भन्ने भाष्य पनि आफैंमा सही हुन सक्दैन।
नेतृत्वको मूल्याङ्कन उमेरका आधारमा होइन, योग्यता, विचार, आचरण, योगदान, इमानदारी र जवाफदेहिताका आधारमा हुनुपर्छ।
युवालाई अवसर दिनुपर्छ।
तर युवाको नाममा अवसरवादी प्रवृत्तिलाई वैधता दिनु भनेको आन्दोलन प्रतिको अन्याय हो।
त्यसैगरी पुराना पुस्ताको अनुभवलाई सम्मान गर्नुपर्छ।
तर अनुभवको नाममा नेतृत्वमा अनन्त काल सम्म एउटै व्यक्तिको पकड कायम राख्ने संस्कार पनि स्वीकार्य हुनु हुँदैन।
आजको आवश्यकता पुस्ता बीचको द्वन्द्व वा टकराव होइन।
आजको आवश्यकता यो हो-
सकारात्मक पुस्तान्तरण र राजनीतिक संस्कारको रुपान्तरण।
यसमा सबै भन्दा ठूलो जिम्मेवारी तल्लो तहका इमानदार कार्यकर्ताको काँधमा छ।
लामो समय देखि पार्टी र आन्दोलनमा योगदान गरेका कार्यकर्ताले अब व्यक्तिको नजिक भएको आधारमा होइन, उसको राजनीतिक चरित्र र व्यवहारका आधारमा नेतृत्वलाई हेर्नुपर्छ।
कसैले ठूलो र चर्को भाषण गर्‍यो भन्दैमा, सामाजिक सञ्जालमा परिवर्तनका आकर्षक नारा लेख्यो भन्दैमा वा आफूलाई युवा पुस्ताको प्रतिनिधि भन्दैमा उसको विगत बिर्सनु हुँदैन।
कार्यकर्ताले अब एउटा महत्वपूर्ण राजनीतिक संस्कार विकास गर्नैपर्छ।
नेतृत्वलाई प्रश्न गर्ने संस्कार।
कहाँ बाट स्रोत आयो?
कसरी खर्च भयो?
कसले जिम्मेवारी पायो?
किन पायो?
कसको योगदान के हो?
कसको राजनीतिक इतिहास कस्तो छ?
हिजो के गरियो?
आज के भनिँदैछ?
भोलि के गर्ने प्रतिबद्धता छ?
यी प्रश्नहरू सोध्नु विद्रोह गर्नु होइन।
यी प्रश्नहरू सोध्नु संगठन कमजोर पार्नु होइन।
बरु जवाफदेही र स्वस्थ राजनीतिक संगठन निर्माण गर्ने आधार हो।
दुःखद कुरा के हो भने,
कतिपय अवस्थामा प्रश्न गर्ने कार्यकर्तालाई नै असन्तुष्ट, विरोधी वा अनुशासनहीन वा बिद्रोही भनेर चित्रण गर्ने प्रवृत्ति पनि देखिन्छ।
यस्तो संस्कारले संगठन बलियो बनाउँदैन।
जहाँ प्रश्न गर्न पाइँदैन,
त्यहाँ गलत प्रवृत्ति मौलाउँछ। जहाँ नेतृत्वलाई जवाफदेही बनाउन सकिँदैन,
त्यहाँ व्यक्ति केन्द्रित राजनीति बलियो हुन्छ।
जहाँ व्यक्ति केन्द्रित राजनीति बलियो हुन्छ,
त्यहाँ विचार र आन्दोलन क्रमशः कमजोर हुँदै जान्छ।
त्यसैले अब व्यक्तिको होइन, प्रवृत्तिको पहिचान गरौं।
हिजो कसको संरक्षणमा को अघि बढ्यो?
कसले कस्तो भूमिका निर्वाह गर्‍यो?
कसले कठिन समयमा संगठन र कार्यकर्ताको साथ दियो?
कसले अवसर आउँदा व्यक्तिगत लाभलाई प्राथमिकता दियो?
कसले आलोचना सहन सक्यो?
कसले आर्थिक पारदर्शिताको पक्षमा उभियो?
कसले पद नपाउँदा पनि संगठनका लागि काम गर्‍यो?
यी प्रश्नहरूको जवाफ खोज्दा धेरै अनुहार आफैं स्पष्ट र छर्लङ्ग हुन आउँछन्।

आज कम्युनिष्ट आन्दोलनले केवल नेतृत्व परिवर्तन खोजिरहेको छैन।
यसले विश्वसनीयता पुनःस्थापित गर्ने बाटो, जनता सँगको सम्बन्ध पुनर्निर्माण गर्ने आधार, कार्यकर्ताको आत्मसम्मान फर्काउने वातावरण र संगठन भित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता, जवाफदेहिता तथा राजनीतिक नैतिकता स्थापित गर्ने प्रयास खोजिरहेको छ।
यदि युवा नेतृत्वको बहस यही मूल प्रश्न बाट अघि बढ्यो भने यसले सकारात्मक परिणाम दिन सक्छ।
तर यदि केही व्यक्तिले आफ्नै राजनीतिक स्वार्थ पूरा गर्न,
पद कब्जा गर्न वा पुरानो संरक्षणको नयाँ केन्द्र निर्माण गर्न “युवा नेतृत्व”, “रुपान्तरण” वा “पुस्तान्तरण” का नारालाई प्रयोग गरे भने त्यो रुपान्तरण हुँदै होइन पुरानो प्रवृत्तिको नयाँ आवरण मात्र हुनेछ।

त्यसैले आजका इमानदार कार्यकर्ताले भावनामा होइन, विवेकमा उभिन जरुरी छ।
कसैको चर्को भाषण, आकर्षक नारा, सामाजिक सञ्जालको प्रचार वा आफूलाई परिवर्तनको प्रतिनिधि घोषणा गरेको भरमा प्रभावित हुनु हुँदैन।
व्यक्तिको बोली भन्दा उसको व्यवहार, दाबी भन्दा उसको विगत र नारा भन्दा उसको राजनीतिक आचरण हेर्नुपर्छ।
कम्युनिष्ट आन्दोलनलाई दुर्घटना बाट जोगाउने हो भने अहिले नै सचेत हुनुपर्छ।
आज गलत प्रवृत्तिलाई सानो सम्झेर छोडियो भने भोलि त्यही प्रवृत्ति संगठनको मूल संस्कार बन्न सक्छ।
आज चाकडीलाई सामान्य ठानियो भने भोलि योग्यताको ठाउँमा यहि पहुँचले निर्णय गर्नेछ।
आज आर्थिक अपारदर्शिता लाई बेवास्ता गरियो भने भोलि आन्दोलनको नैतिक आधार र धरातल कमजोर हुनेछ।
आज व्यक्ति पूजालाई स्वीकार गरियो भने भोलि विचार र सिद्धान्त केवल नारामा सीमित हुने खतरा रहन्छ।
त्यसैले अबको रुपान्तरण अनुहार परिवर्तनको अभियानमा मात्र सीमित हुनु हुँदैन।
यो प्रवृत्ति परिवर्तनको अभियान बन्नुपर्छ।
हामीलाई यस्तो नेतृत्व चाहिन्छ, जो कार्यकर्ता लाई प्रयोग गरेर माथि पुग्ने होइन, कार्यकर्ता सँगै उभिन सकोस्।
हामीलाई यस्तो नेतृत्व चाहिन्छ, जसले पदलाई सुविधा होइन, जिम्मेवारी ठानोस्।
हामीलाई यस्तो नेतृत्व चाहिन्छ, जसले आर्थिक स्रोतलाई निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारीका रूपमा बुझोस्।
हामीलाई यस्तो नेतृत्व आवश्यक छ जसले प्रश्न बाट भाग्ने होइन, प्रश्नको जवाफ दिने संस्कार विकास गरोस्।
हामीलाई यस्तो नेतृत्व चाहिन्छ, जसले पुरानो संरक्षणको ठाउँमा नयाँ गुट निर्माण नगरी संगठनलाई संस्थागत बनाउन सकोस्।

सबै भन्दा महत्वपूर्ण कुरा त
जसको भनाइ र गराइ बीच ठूलो खाडल नहोस्।
यही नै वास्तविक रुपान्तरणको सुरुवात हो।
अब समय आएको छ,
नारा भन्दा निष्ठा,
चाकडी भन्दा क्षमता,
पहुँच भन्दा योगदान,
प्रचार भन्दा आचरण,
पद भन्दा जिम्मेवारीलाई प्राथमिकता दिने।

कम्युनिष्ट आन्दोलनलाई दुर्घटना बाट जोगाउने जिम्मेवारी केवल शीर्ष नेतृत्वको होइन।
प्रत्येक इमानदार कार्यकर्ताको पनि हो।
त्यसैले बेलैमा सचेत बनौँ।
व्यक्तिको चमकमा होइन, प्रवृत्तिको चरित्रमा ध्यान दिऔँ।
पुरानो होस् वा नयाँ,
युवा होस् वा अनुभवी –
जो पारदर्शी, जवाफदेही, इमानदार र आन्दोलन प्रति प्रतिबद्ध छ,
त्यसको योगदानलाई सम्मान गरौँ।
तर रुपान्तरणको नाममा पुरानै स्वार्थ, चाकडी, गुटबन्दी र अवसरवाद दोहोर्‍याउने प्रवृत्तिलाई प्रश्न मात्र होइन तिरस्कार गरौँ।
किनकि अन्ततः
कम्युनिष्ट आन्दोलनको भविष्य नयाँ अनुहारले मात्र होइन,
रुपान्तरण सहितको नयाँ राजनीतिक संस्कारले निर्धारण गर्नेछ।
त्यो संस्कार निर्माण गर्ने जिम्मेवारी आजको इमानदार पंक्तिले समयमै बुझ्न र निर्वाह गर्न आवश्यक छ।

केन्द्रिय सदस्य
नेकपा (माओवादी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button