
काठमाडौँ, असोज ३ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्रका लागि शुक्रबारदेखि पाठ्यपुस्तक छपाइ सुरु गरेको छ । पुस्तक छपाइका लागि आवश्यक पर्ने मुद्रणीय प्रति (पिआरसी) पाठ्यक्रम विकास केन्द्रले दिएसँगै जनक शिक्षाले छपाइ सुरु गरेको हो । यसअघि मुद्रणीय प्रति नपाएका कारण छपाइ प्रक्रिया अघि बढ्न नसक्दा आगामी शैक्षिक सत्रमा विद्यालय तहमा पाठ्यपुस्तक अभाव हुने चिन्ता बढेको थियो ।
शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार तत्कालका लागि हाल कार्यान्वयनमै रहेको पाठ्यक्रम अनुसार पुस्तक छपाइ गर्ने निर्णय गरेसँगै पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षालाई छपाइ गर्न निर्देशन दिएको हो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार मन्त्रालयको निर्णयका आधारमा जनक शिक्षालाई पुस्तक छपाइको निर्देशन दिइएको हो । हाल विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप (एनसिएफ) निर्माणको क्रममा छ । एनसिएफ निर्माणका लागि शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठिन कार्यदलले काम गरिरहेको छ । कार्यदल अन्तर्गत १२ वटा विषयगत समूह छन् । ती समूहले प्रदेश तथा जिल्लास्तरमा पुगेर सुझाव सङ्कलन गरिरहेका छन् ।
कार्यदलले छिटो काम सकाए आगामी शैक्षिक सत्रदेखि नै परिमार्जित पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छपाइ गर्ने तयारी सरकारको थियो तर कार्यदलको प्रतिवेदनका आधारमा पाठ्यक्रम बनाउनुपर्ने र सोही पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुँदा केही समय लाग्ने देखिएकाले छपाइ प्रक्रिया अघि बढाइएको हो ।
यसबिचमा एनसिएफको प्रतिवेदन अनुसार पाठ्यक्रममा केही थपघट गर्नुपर्ने भए सोही अनुसार निर्देशिका बनाएर कार्यान्वयनका लागि विद्यालयलाई निर्देशन दिने सरकारी तयारी छ । केन्द्रका कार्यकारी निर्देशक पराजुलीले भन्नुभयो, “एनसिएफले परिमार्जन गर्नुपर्ने गरी दिएको सुझावलाई कार्यान्वयन गर्न विद्यालयहरूलाई पछि निर्देशन दिन सकिन्छ तर पाठ्यपुस्तक भने पुरानै पाठ्यक्रम अनुसार छपाइ हुन्छ ।”
सरकारले कक्षा १, २ र ४ का विद्यार्थीका पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिएको छ । बाँकी कक्षाका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने छ तर स्रोतसाधनले भ्याएमा जनक शिक्षाले कक्षा १, २ र ४ का विद्यार्थीका पाठ्यपुस्तक पनि छपाइ गर्न पाउँछ । तर निजी मुद्रण संस्थाले जनक शिक्षालाई छाप्ने अधिकार दिएका कक्षाका विद्यार्थीका पाठ्यपुस्तक भने छाप्न पाउँदैन । गत वर्ष पनि यही व्यवस्था थियो ।
पाठ्यक्रम विकास केन्द्रबाट मुद्रणीय प्रति पाएसँगै दैनिक छ वटा छापाखाना प्रयोग गरेर पाठ्यपुस्तक छपाइ सुरु गरेको जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो । छपाइ सुरु भएसँगै आगामी शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यालय तहमा पाठ्यपुस्तक पुर्याउन सजिलो हुने पौडेलले बताउनुभयो ।गोरखापत्र अनलाइन



