
आगलागीबाट नस्ट भएको गोठ ।
जानु पाण्डे
कपिलवस्तु, कात्तिक १ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा लामखुट्टे धपाउन गोठमा बालिएको आगोबाट शुक्रवार राति दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा पाँचवटा गोठ जलेर नष्ट भएको छ ।
आगलागीमा एक भैँसीको पाडा जलेर मरेको छ । पाँच वटा पशु चौपाया घाइते भएका छन् । विजयनगर गाउँपालिका–१ नौरङ्गियामा ५६ वर्षीय सहिम मुसलमानको गोठमा राति करिब ११ः२० बजे लामखुट्टे धपाउन बालिएको आगोबाट आगलागी भएको थियो ।
आगो फैलिएर सहिमसहित जम्मे मुसलमान, गोलहई मुसलमान र मकगुल मुसलमानका काठ र फुसले बनेका गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।
आगलागीबाट सहिमको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । एउटा गोरु घाइते भएको छ । जम्मेको गोठमा रहेका एउटा भैँसीको पाडा जलेर मरेको तथा एउटा भैँसी र एउटा गोरु घाइते भएको पीडितले बताएका छन् । गोलहई र मकगुलका गोठसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
यसैगरी विजयनगर गाउँपालिका–४ देउपुरामा ६४ वर्षीय जहुर हसेत मुसलमानको गोठमा राति करिब ११ः३० बजे लामखुट्टे भगाउन बनाइएको धुवाँबाट आगलागी भएको थियो । आगलागीबाट काठले बनेको फुसले छाएको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।
गोठमा रहेका आठ बाख्रामध्ये दुईवटा जलेर घाइते भएका छन् भने एउटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त घटनामा करिब ८० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
दुवै घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । नौरङ्गियाको आगो शनिवार बिहान १ः३० बजे र देउपुराको आगो राति १२ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीले लाखौंको क्षति भएको प्रहरीको भनाइ छ ।
गोरखापत्र अनलाइन



