
फिल्मीखबर, काठमाडौं
‘प्रेमगीत’ जस्तो दर्शकको मनमा बस्न सफल फिल्म दिएका सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले बिहीबार ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।
अहिलेका चल्तीका संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा देवल भण्डारीको शब्द र सनिष श्रेष्ठको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो दुबै सशक्त छ । पल र पूजाको केमेस्ट्री पनि सुहाएको देखिन्छ । गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले ठूलो रकम खर्च गरेर काठमाडौंको त्रिपुरेश्वरमा कृतिम हिउँ नै पारेको छ ।
फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् ।
दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । त्यसो त निर्देशक सुदर्शनका हरेक फिल्मको दर्शकमा निकै प्रतिक्षा रहने गर्दछ । उनका फिल्म हेरेर धेरैले प्रेम गर्न सिकेका छन्। फिल्म ‘म यस्तो गीत गाउँछु २’ लाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको सुदर्शन बताउँछन् ।
गीत हेर्नुहोस् :-



