खबर

इञ्जीनियरिङ कलेजको छपरबाट लड़ेर म्याकेनिकल छात्रको मृत्यु

कुचबिहार : कुचबिहार इञ्जीनियरिङ कलेजको चौथो वर्षका एकजना म्याकेनिकल छात्रको कजेलको छपरबाट झरेर मृत्यु भएको छ। मृतक छात्र विजन बारीक दक्षिण 24 परगना जिल्लाको डायमण्ड हर्बर निवासी थिए। सूत्र अनुसार आइतवार साँझ विजन बारीक इञ्जीनियरिङ कलेजको छपरबाट अचानक झरेपछि तिनलाई तत्कालै कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा पुऱ्याइए तापनि त्यहाँ नै केही समय पछि तिनको मृत्यु भयो। तथापि यस घटनाबारे कलेजका प्रन्सिपलले हालसम्म केही मन्तव्य प्रकट गरेका छैनन्। घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

सिलगढीकी ऋचा घोष भारतीय क्रिकेट टोलीमा सामेल

सिलगढी : आगामी 21 फरवरीदेखि शुरू हुने आईसीसी महिला टी-20 विश्वकप क्रिकेट प्रतियोगिताको निम्ति 15 सदस्यी टोलीमा सिलगढीकी ऋचा घोषले पहिलोपल्ट मौका पाएकी छन्। हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीका सदस्यहरूको नाम घोषित गरिएको छ। उक्त घोषणाअनुसार सिलगढीको सुभाषपल्ली वासिन्दा ऋचा 15 सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीमा छनौट भएका छन्। सिलगढीको बाघाजतीन एथलेटिक क्लबमा लगातार अभ्यास गर्ने ऋचाले घरेलु क्रिकेटमा लगातार असल प्रदर्शन गरेपछि तिनलाई राष्ट्रिय टोलीमा मौका दिएको बताइएको छ। भारतीय टी-20 महिला टोलीमा ऋचा एकमात्र नयाँ अनुहार हुन्। ऋचाले हालै महिला च्यालेन्जर ट्रफीमा पनि असल प्रदर्शन गर्दै 26 बलमा 4 वटा चौका र 1 छक्काको सहायताले 36 रन बनाएकी थिइन्। ऋचा घोषले राष्ट्रिय टी-20 विश्वकपको निम्ति मौका पाएपछि सिलगढीवासी पनि हर्षित बन्नको साथै हाल तिनलाई बधाई दिनेहरूको थुप्रो लागेको थाहा लागेको छ।
माघे सङ्क्रान्तिको लागि तरूल किन्नेहरूको बजारमा भीड़

दार्जिलिङ: भारतीय नेपालीहरूले पालन गर्ने माघे सङ्क्रान्ति पर्वलाई ध्यानमा राखेर पहाडका विभिन्न ठाउँहरूमा विभिन्न प्रकारका तरूलको बजार शुरू भएको छ। माघे सङ्क्रान्तिमा विशेष गरि तरूल खाने चलन रहेको कारण हाल पहाड़को दार्जिलिङ बजार, कालेबुङ, खरसाङ, मिरिकलगायत अन्य विभिन्न ठाउँहरूमा लाग्ने बजारहरूमा विभिन्न प्रजातिका तरूलहरू बेच्नको लागि राखिएको छ।

तरूलहरू किन्नको लागि मानिसहरूको बजारमा आजदेखि भीड़ लाग्न थालेको देखिन्छ। बजारमा विशेष गरेर सिमल तरूल, सकरकन्द, घर तरूल, वन तरूल आदि बिक्रीमा राखिएको अनि मानिसहरू यसलाई किन्न उत्साहपूर्वक आइरहेको दार्जिलिङ सब्जी बजारकी एकजना महिला तरूल बिक्रेता बताउँछिन्।

पुराना समानहरू राखेको दोकानमा आगलागी

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्डको विवेकानन्द रोडस्थित एउटा पुराना समानहरू राखेको एउटा दोकानमा आगो लागेपछि इलाकामा व्यापक आतङ्क मच्चियो। आगलागीको खबर पाएर गत राति दमकल विभागको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर दुई घण्टाको लगातार प्रयासपछि आगोलाई केही नियन्त्रणमा ल्याएको साथै यसपछि लगातार केही घण्टासम्मको प्रयासपछि मात्र आगोलाई पूर्ण नियन्त्रणमा ल्याएको बताइएको छ। सर्ट सर्किटको कारण उक्त आगलागी भएको दमकल कर्मीहरूले प्राथमिक जाँचपछि अनुमान लगाएको छ।siliguritimes/india

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button