खबर

अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै

नगेन्द्र सापकोटा

भक्तपुर, माघ ७ गते । भक्तपुर जिल्लाकोे सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ ।
उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुङ्गीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ । उद्यानमा नेपालमा पाइने सबै प्रजातिका जनावर बाघ, गैँडा, हात्ती, चित्तल, मृग, नीलगाई, चौरीगाई, गोही, झारल, हुँडार, हाब्रे, बाँदर, अजिङ्गरलगायत सबै प्रजातिका चरा राखिने छ ।
उक्त जनावर र चराचुरुङ्गीको सहजै अवलोकन र अध्ययन गर्न सकिने गरी प्राणी उद्यान निर्माण गर्न लागिएको हो । सूर्यविनायक नगरपालिकाको वडा नं. ६, ७ र ८ क्षेत्रको २४५ हेक्टर जमिनमा प्राणी उद्यान निर्माण हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका सहायक डिन जीवनाथ पाण्डेले प्राणी उद्यान क्षेत्रमा सातवटा क्षेत्र (जोन) निर्माण गरिने र जनावरको स्वभावअनुसार उक्त क्षेत्रमा राखिने गरी गुरुयोजना निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्राणी उद्यान निर्माण सम्पन्न भएपछि उद्यानको अध्ययन र अनुसन्धान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सम्बन्धित व्यक्तिको आकर्षण बढ्ने छ ।” प्राणी उद्यानको भू–बनोट जनावर र चराचुरुङ्गीका लागि अनुकूल हुने गरी कतै ओसिलो, कतै पारिलो त कतै समथर र कतै उच्च भाग रहेको छ । प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै जनावर र जीवजन्तुको अध्ययन अनुसन्धानका लागि पार्क, वन्यजन्तु उपचार केन्द्र, जियोलोजिकल लाइब्रेरी, बोटानिकल लाइबे्ररी, सभा हल, वन्यजन्तुसम्बन्धी अनुसन्धान केन्द्र, वन्यजन्तु शैक्षिक प्रदर्शनी स्थान, मनोरञ्जनात्मक पार्क निर्माण गरिने छ । सूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यान केन्द्रीयस्तरको र सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान निर्माण गरिने गुरुयोजनामा उल्लेख छ ।

गुरुयोजना स्वीकृतिमा ढिलाइ
राष्ट्रिय प्राणी उद्यानले गुरुयोजना स्वीकृतिका लागि वन मन्त्रालयमा २०७५ साउनमा पठाए पनि मन्त्रालयले अहिलेसम्म स्वीकृत गरेको छैन । गुरुयोजना निर्माण नहुँदा प्राणी उद्यान विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण कार्य अगाडि बढ्न नसकेको राष्ट्रिय प्राणी उद्यानको कार्यालयले जनाएको छ ।
राष्ट्रिय प्राणी उद्यानको कार्यालयका निर्देशक वेदकुमार ढकालले प्राणी उद्यानको गुरुयोजना र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन वन मन्त्रालयले एकैपटक स्वीकृत गर्ने गरी तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०७८ को असारभित्र उद्यानको गुरुयोजना स्वीकृत हुन्छ । प्रस्तावित गुरुयोजनाका आधारमा उद्यान विस्तृत परियोजना प्रस्ताव भने आगामी असारभित्र स्वीकृत गरिसक्छ ।” कुल सात अर्ब रुपियाँको लागतमा प्राणी उद्यान निर्माण हुन लागेको हो । प्राणी उद्यान निर्माण सम्पन्न भएपछि वार्षिक एक अर्ब रुपियाँ राजस्व सङ्कलन हुने अनुमान प्राणी उद्यानले गरेको छ । प्राणी उद्यान निर्माण गर्न लागेको सबै खर्च सात वर्षमा राजस्वबाट सङ्कलन हुनेछ ।
अहिले प्राणी उद्यान क्षेत्रमै उद्यानको आफ्नै कार्यालय भवन निर्माण सम्पन्न भएको, प्राणी उद्यान क्षेत्रको जमिन तारबारले घेर्ने, प्राणी उद्यानका लागि आवश्यक पानीको व्यवस्थापनका लागि दुईवटा डिप बोरिङ गर्ने कार्य सम्पन्न भएको निर्देशक ढकालले बताउनुभयो । प्र्राणी उद्यान क्षेत्रमा भ्युटावर, गुण्डु, कटुञ्जे र सिपाडोल क्षेत्रमा तीनवटा प्रवेशद्वार निर्माण गरिने छ ।
छिटो बन्नुपर्छ प्राणी उद्यान
नेपालकै नमुनाका रूपमा निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्यको गुरुयोजना वन तथा वातावरण मन्त्रालयले चाँडै स्वीकृत गर्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिले बताउनुभएको छ । २०७१ सालमा सरकारले सूर्यविनायक क्षेत्रमा निर्माण गर्ने घोषणा गरेको प्राणी उद्यानको गुरुयोजना अहिलेसम्म पनि मन्त्रालयले स्वीकृत नगरेकाले छिटो स्वीकृत गर्न सूर्यविनायक नगरपालिकाले मन्त्रालयलाई आग्रह गरेको छ ।
सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले केन्द्रीयस्तरको प्राणी उद्यानलाई वन मन्त्रालयले प्रदेशस्तरको बनाउन खोजेको, प्राणी उद्यान कार्यालयमा सहसचिवस्तरको कार्यालय प्रमुखको दरबन्दी रहने भनिए पनि अहिले उपसचिवस्तरको दरबन्दी राखेर मन्त्रालयले प्राणी उद्यानलाई कमजोर बनाउन खोजेको बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button