कृषि र किसान

विदेश हैन स्वदेश, व्यावसायिक कृषिबाटै आमूल परिवर्तन

धु्रवसागर शर्मा

गलेश्वर। स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मिहिनेत गरी थोरै पैसा कमाउन विदेशिनेहरूलाई म्याग्दीका केही पौरखी युवाहरुले चुनौती दिएका छन् ।लगन हुने हो र मिहिनेत गर्न सक्ने हो भने थोरै पूँजीमा पनि विदेशमा भन्दा धेरै आम्दानी गर्न सकिने उनीहरु आफैँले प्रमाणित गरिदिएका छन् ।

बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्मा, खबराका चन्द्रबहादुर कार्की, बेनी नगरपालिका–४ सिङ्गा राक्सेकी गीता कार्की र मैना खत्री, जरबुटका नारायण जिसी, मालिका गाउँपालिका–५ विमका हर्क जुग्जालीलगायत युवायुवतीले गाउँमै बसेर गरेको तरकारी खेती, च्याउ खेती, सुन्तला खेती, मौरीपालन र पशुपालनबाट वार्षिक लाखाँै आम्दानी गरेर सबैका लागि उदाहरणीय बनेका छन् ।

विदेश जाने र जागिर खाने उमेरमा माटोसँग मितेरी लगाएका रोहोटेका शोभित सापकोटाले करीब ३० हजारको लगानीबाट शुरु गरेको तरकारी खेतीबाट आजभोलि वर्षको रु. सात लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी घरबाट नै बिक्री हुने गरेको छ भने बजारमा पनि खोसाखोस हुने गरेको छ । जिल्लाका अगुवा कृषकसमेत रहनुभएका सापकोटाको फस्टाएको तरकारी खेतीले मनग्य आम्दानी दिएपछि उहाँ खुशी हुनुहुन्छ । उहाँले भन्नुभयोे, “लौ जोड्नुहोस् बीउ, डोरी, प्लास्टिक र अन्य गरी जम्मा रु.३० हजार । रोपेको तीन महिनापछि मनग्य आम्दानी हुन्छ । अनि किन जाने ऋण काढेर विदेश रु” उहाँको बारीमा अहिले बन्दा, काउली, गोलभेँडा, रायोको साग, मूला, खुर्सानीलगायत तरकारी फलेको छ भने पाँचवटा प्लाष्टिक टनेलका गोलभेँडा पाक्ने अवस्थामा रहेका छन् ।

त्यसैगरी खबराका कार्कीले तरकारी खेती, केरा खेती, मौरीपालन र माछापालन गरेर वार्षिक रु १२ लाख आम्दानी गर्नुहुन्छ । उहाँले तरकारीखेती मौरीपालन र माछापालनबाट वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । “मिहिनेत गर्न सक्ने हो भने आफ्नै माटोमा पैसा फल्छ”, ५८ वर्षीय कार्कीले भन्नुभयो, “मैले १९ वर्षको उमेरदेखि जागिर नखाएर र वैदेशिक रोजगारीमा पनि नगई माटोसँग खेल्न शुरु गरेको हुँ, अहिले यही पौरखले रु डेढ करोडभन्दा बढीको सम्पत्ति जोडेको छु ।”त्यस्तै राक्सेका युवतीद्वय गीता र मैनाले पनि तरकारी खेती र च्याउँ खेतीबाट नसोचेको आम्दानी गर्न सफल भएका छन् । चारवटा टनेलमा कन्या जातको च्याउ खेती गरेका गीता–मैना च्याउ बिक्रीबाट भएको आम्दानीले मख्ख छन् । राक्से सिर्जनशील कृषि फार्म नै दर्ता गरेर डेढ वर्षअघिदेखि च्याउ खेती शुरु गरेका उहाँहरु च्याउ बिक्री गरेर वार्षिक रु तीन लाख कमाउन थालेका छन् । उहाँहरु अहिले गाउँमा ‘उद्यमी महिला’ को पहिचानसमेत कमाएका छन् । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएका उहाँहरु च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि अहिले व्यावसायिक रुपमा च्याउ खेती गर्न थालेका हुन् ।

बजारमा च्याउको माग बढ्दै गएता पनि उहाँहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको छ । चारवटा टनेलमा च्याउ खेती गर्दै आएका यी दुई महिलाको आम्दानीबाट प्रभावित भई गाउँका अन्य महिलाहरुले पनि च्याउ खेती शुरु गरेको अगुवा महिला राधिका पौडेलले बताउनुभयो । सानो पराल र बाँसको छाप्रो बनाएर सानो पूँजीमा शुरु गरेको च्याउखेतीले व्यावसायिक रुप लिएपछि अहिले आधुनिक टनेलमा व्यवस्थित रुपले च्याउ खेती गरेका उहाँहरु मनग्य आम्दानी हुन थालेपछि व्यवसाय विस्तारको तयारीमा लागेका छन् ।

छिमेकी किसानले पनि उहाँहरु जस्तै च्याउ खेती शुरु गरेका छन् । च्याउको तरकारी स्वास्थ्यका लागि उत्तम मानिन्छ । च्याउको सेवनबाट विभिन्न रोग पनि निको हुने भएकाले आजभोलि बजारमा च्याउको उपभोग गर्ने उपभोक्ताहरू पनि बढिरहेका छन् । फलस्वरुप च्याउको बजार माग उच्च रहेको छ ।मिहिनेती किसान शोभितका अनुसार नेपाली बजारमा च्याउको माग पूर्ति गराउने गरी उत्पादन भएकै छैन । उहाँले शुरुमा थोरै लगानी गरेर मिहिनेत गरे वर्षमा लाखाँै कमाउन विदेश गइरहन आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पढेर विदेशिने युवालाई च्याउखेतीसम्बन्धी तालीम दिएर ऋण उपलब्ध गराई सहयोग गर्ने हो भने विदेशिने युवा पनि स्वदेशमै आत्मनिर्भर बन्न सक्नेछन् । उहाँले सहकारीको माध्यमबाट च्याउखेती गरे झन् बढी आम्दानी हुन सक्ने बताउनुभयो ।

त्यसैगरी बेनी नगरपालिका– ६ जरबुटाका नारायण जिसीको कृषि मोह पनि कम रोचक छैन । भूगोलले नै ठगेको जरबुटाको पाखोवारीमा तरकारी खेती गर्दा शुरुमा गाउँलेले जिल्याएको सम्झिदा जिसीलाई अहिले कम आनन्द लाग्दैन । न सिँचाइको व्यवस्था, न नजीकमा जङ्गल । अनकन्टार ठाउँमा पोखरीमा जम्मा गरेका पानीबाट २०७२ सालमा बेमौसमी तरकारी खेती शुरु गरेका जिसी अहिले तरकारी बेचेर मात्रै वार्षिक ६ लाख रुपैयाँसम्म कमाई गर्दै आउनुभएको छ । उहाँका बारीमा माघको यो चिसोमा पनि लटरम्म फलेका गोलभेँडा, साग, केराउ, बन्दागोभी, काउली, खुर्सानी, गाजर र काँक्रो लहलहै झुलेका छन् ।

बेमौसमी तरकारीबाट यो सिजनमा रु तीन लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य जिसीको छ ।त्यस्तै विमका हर्क जुग्जालीले सुन्तला विक्रि गरेर यस वर्ष एक्लै रु सात लाख कमाउनुभयो । कृषि गाउँका रुपमा परिचित विमका धेरै किसानले सुन्तला खेती गरेका छन् भने युवाहरु वैदेशिक रोजगारीमा छन् । तर विदेश नगईकन हर्कले सुन्तला खेतीमा नै आफ्नो भविष्य रोजेपछि अहिले उहाँ सफल पनि हुनुभएको छ । उहाँले भन्नुभयो, “विदेश गएका साथीहरु तीन÷चार वर्षमा घर आउँदा हातमा ठेला र गोजीमा पाँच÷६ लाख रुपैयाँ हुन्छ, मैले आफ्नै गाउँमा बसीबसी वर्षको ६÷७ लाख रुपैयाँ आम्दानी गर्छु, किने जाने विदेश रु’

यी त केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । पछिल्लो समय म्याग्दीमा व्यावसायिक कृषिको लहर चलेको छ । विशेष गरी युवाहरु कृषि र पशुपालनमा आकर्षित भएपछि म्याग्दीको ग्रामीण जीवनशैली नै फेरिएको छ । परम्परागत कृषिको ठाउँमा आधुनिक र व्यावसायिक कृषि प्रणालीको विकास हुँदै गएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दी र लघु उद्यम विकास समितिको एक तथ्याङ्क अनुसार म्याग्दीका करीब दुई सय युवाहरु व्यावसायिक कृषिमार्फत आफ्नो जीवनस्तर माथि उठाउन सफल भएका छन् । उनीहरुको कमाई युरोपियन र खाडी देशमा श्रम गर्ने नेपालीहरुको भन्दा बढी छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button