मूल खबर

अदालत छलेर भागे सिद्धबाबा भारततिर

सरोज यादव, विराटनगर ।
बलात्कार आरोपमा अदालतमा मुद्या खेपिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरी प्रहरीलाई नै झुुक्काएर फरार हुनुभएको छ । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला बलात्कार आरोपी गिरी बिहीबार दिउँसो भारततिर लाग्नुभएको छ । सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँड्नु भएको जनाइएको छ । उहाँको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो ।

स्रोतका अनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केहीपनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह अन्योलमा पर्नुभएको छ । केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँड्नुभएको तर अदालत नपुगी भारत जानुभएको छ । हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गिरी किन उता लाग्नुभयो भन्ने बारेमा यकिन भइसकेको छैन । स्वास्थ्य उपचारका लागि भन्दै उहाँ दिल्ली गएको हुनसक्ने जनाइएको छ । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किनुभएको थियो । त्यसकै ’फलोअप’का लागि फेरि गएको उनी निकटस्तहरु बताउछन् । मुख्य न्यायाधीश शतिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई शंकाको दृष्टिकोणबाट हेरिएको छ ।

सुनुवाईपछि आउने अदालतको आदेशको पर्खाइमा उहाँ रहनुभएको थियो । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उहाँ भारततिर लागेको हुनसक्ने जनाइएको छ । आफ्नो पक्षमा आदेश आएमा नेपालफर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेको हुन सक्ने अनुमानगरिएको छ । कतिपयले बाबाको विपक्षमा फैसला आउन सक्ने कानुन ब्यवसायीको तर्कपछि उहाँ भारत जानुभएको बताईएको छ । बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्चअदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराउनुभएको थियो ।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएको थियो । मुद्दा एउटा र पक्षविपक्ष दुईवटा भएकाले अन्तर सम्बन्धित मुद्दामा भिन्दाभिन्दै सुनुवाई नहुने भएकाले दुवै पक्षलाई सँगै राखेर सुनुवाई गर्नु पर्ने भएकाले नै मुद्दा लगाउमा राखिएको हो ।उच्चबाट मुद्दाको सुनवाई भएपछि सुनसरी अदालतको आदेश नै रितपूर्वक भएको मान्ने कि बेरितको भन्दै अर्को अन्तिम आदेश गर्ने टुंगो लाग्ने छ ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button