युनाइटेड रङ्बुललाई पराजित गरेर युकेएफसी प्री-क्वार्टर फाइनलमा

सिलगढी : रोमाञ्चक टाइब्रेकरमा युनाइटेड रङ्बुल फुटबल क्लबलाई पराजित गरेर युकेएफसी (युनाइटेड खरसाङ फुटबल क्लब) 15औँ सुकना गोल्डकप फुटबल प्रतियोगिताको प्री-क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएशनको तत्वावधानमा आयोजित यस प्रतियोगिता अन्तर्गत बिहिबार खेलिएको दोस्रो चरणको म्याचमा युकेएफसीले युनाइटेड रङ्बुललाई रोमाञ्चक टाइब्रेकर 3-1 गोलले पराजित गर्यो। निर्धारित समयसम्म दुवै टोलीका खेलाडीहरूले 1-1 गोल गरेर बराबरीमा रहेपछि अन्तमा खेलाइएको टाइब्रेकरमा युकेएफसीले युनाइटेड रङ्बुललाई 3-1 गोलले पराजित गर्यो।
विजेता टोलीको आशिष देवानलाई म्यान अफ् द म्याच चयन गरियो भने तिनलाई अतिथि तथा पूर्व फुटबल खेलाडी मोहन गुरूङको बाहुलीबाट ट्रफी प्रदान गरियो। युकेएफसीको अब अघिल्लो चरणमा रोयल फुटबल क्लब सिलगढीसँग आगामी 27 जनवरीको दिन प्री-क्वार्टर फाइनलमा जम्मका भेट हुनेछ। आज शुक्रबारको खेल केसोराम फुटबल एकाडेमी कलकत्ता बनाम हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङमाझ सम्पन्न हुनेछ।
जोगीघाट मेलामा मङपु फोटोग्राफी संस्थाका फोटोहरू प्रदर्शनी
मङपु: दार्जिलिङ जिल्लाको मङ्पुस्थित जोगीघाट मेलामा मङपु फोटोग्राफी संस्थाका फोटोहरू प्रदर्शनीमा राखिएको छ। उक्त फोटो प्रदर्शनी केन्द्रको विधिवत् उद्घाटन मङ्पु सिन्कोना बगान ब्यवस्थापक गोपाल लामीछानेको बाहुलीबाट गरियो। गत 23 नोभेम्बर 2019 मा गठन भएको मङपु फोटोग्राफी सोसाइटीले दुई महिनाको अवधिमा 40 भन्दा अधिक फोटोहरु यस स्टलको प्रदर्शनीमा राख्न सफल भएकोमा सिन्कोना बगान ब्यवस्थापकले संस्थाका सबै सदस्यहरूप्रति अभार व्यक्त गरेका छ्न। हाल उक्त संस्थाका सातजना फोटोग्राफरहरु बरुण राणा, राकेश रसाइली, सत्कार राई, करुण राई, अभिनास प्रधान, अनिल थापा र केशर मोक्तानद्वारा आ-आफ्नो क्यामेरामा कैद गरेका फोटोहरु प्रदर्शनीमा राखिएको छ।

फोटोग्राफरहरुले दार्जिलिङ अनि मङपु क्षेत्रमा भएको ल्यान्डस्केप लगायत विभिन्न प्रजातिका चरा तथा पुतलीका फोटोहरु आदि यसपल्टको प्रदर्शनीमा राखेका छ्न्। आगामी दिनमा अझ विभिन्न प्रकारका फोटोहरु प्रदर्शनीमा राखिने संस्थाका सचिव अनिल थापाले जानकारी दिएका छ्न। मङपु फोटोग्राफी सोसाईटीले गरेको यस प्रकारको कार्य देखेर गोजमुमो खरसाङ महकुमा युवा मोर्चा सचिव बिज्ञान मिश्रले हर्ष प्रकट गर्दै अब यस प्रकारका फोटोहरुको लागि मङपुमा एउटा सङ्ग्रहालय हुन नितान्त अवश्यक रहेको कुरा जनाए। यसबारे जीटीएमार्फत पहल गर्ने बारेमा पनि तिनले आश्वासन दिएका छन्।
अनियन्त्रित भएर वाहन खस्यो टिस्टा नदीमा
टिस्टा : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने टिस्टा नजिक लिखेभीरबाट आज बिहान एउटा वाहन अनियन्त्रित भएर सोझै टिस्टा नदीमा खसेको घटना प्रकाशमा आएको छ। उक्त वाहनको मालिक को हुन् अनि यसमा कतिजना यात्रुहरू सवार थिए भन्नेबारे हालसम्म पत्तो लागेको छैन।

तथापि, उक्त दुर्घटनापछि टिस्टा नदीमा एकजना व्यक्तिको शव तैरिरहेको अवस्थामा देखापरेको प्रत्यक्षदर्शीहरूको भनाइ रहेको छ। उक्त घटनाको खबर पाएर पुलिस दल साथै उद्धारकर्मीहरू घटनास्थलमा पुग्नको साथै निखोज व्यक्तिहरू उद्धार गरिने कार्य भइरहेको पुलिस सूत्रले जनाएको छ।
पहाडका चार नगरपालिकाको निम्ति 6 करोडभन्दा अधिक कोष आवन्टित
दार्जिलिङ : राज्य सरकारले पहाडको 4 वटा लगायत उत्तरबंगाल 24 वटा नगरपालिका अनि सिलगढी नगरनिगमको लागि प्रायः 70 करोड रुपियाँ आवन्टित गरेको छ। नगरपालिका चुनाउअघि राज्य सरकारले दार्जिलिङ नगरपालिकाको निम्ति 3 करोड 63 लाख रुपियाँ कोष आवन्टित गरेको बताइएको छ। यसको साथै दार्जिलिङ पहाडका अन्य तीन नगरपालिका कालेबुङको लागि 1 करोड 60 लाख, खरसाङको लागि 1 करोड 31 लाख र मिरिकको लागि 47 लाख कोष आवन्टित गरेको छ। चौधौँ वित्त कमिशन मार्फत् राज्य सरकारले पहाडको यी चार नगरपालिकाको निम्ति मोठ 6 करोड रुपियाँभन्दा अधिक कोष आवन्टित गरेको छ। यी कोषहरू अब चाँडै पहाडका नगरपालिकाहरूको आफ्नो आफ्नो एकाउन्टमा जम्मा हुनेछ भने उक्त कोषमार्फत् त्यहाँका विभिन्न योजनाहरू कार्यन्वयन गर्नमा खर्च गरिने भएको छ। प्राप्त जानकारीअनुसार उत्तर बंगालमा सबैभन्दा अधिक धन राशि सिलगढी नगरनिगमको निम्ति 16 करोड 16 लाख रुपियाँ आवन्टित गरिएको प्रशासनिक सूत्रमार्फत् थाहा लागेको छ।
कुशल राईको ‘टिस्टाको पुकार’ पुस्तक विमोचन
सिलगढी : साहित्य सृजना सामाजिक सञ्जाल परिवारको दोस्रो प्रकाशनमा युवा कवि कुशल राई ‘आक्रोश’-को पहिलो कृति ‘टिस्टाको पुकार’-को विधिवत् विमोचन एक भव्य कार्यक्रमबीच गरियो। साहित्य सृजना सामाजिक सञ्जाल परिवारको प्रथम वर्षगाठको अवसरमा सम्पन्न उक्त कार्यक्रम ज्ञानेन्द्र खतिवड़ाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिहरूमा वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, उर्मिला घिसिङ, कृष्ण प्रधान, विरेन्द्र अब्जस, अर्जुन चामलिङ यावा, डा. जसयोञ्जन प्यासी, मोहन ठकुरी, कालुसिंह रनपहेँली, श्रीमती विमला राई, प्रेम कुमार राईलगायत टिस्टाभ्याली-त्रिवेणी युवा समाज साथै साहित्य सृजना सामाजिक सञ्जाल परिवारका पदाधिकारीगण एवम् सदस्यहरू उपस्थित थिए।

सिलगढीको सालबारीस्थित भवनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यिक लगायत रङ्गारङ्ग कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो। विमोचन गरिएको कृतिको आवरण तयार गरिदिने विशोर राई आश्रयलाई स्मृति चिन्ह तथा दोसल्ला ओड्याएर सम्मान जनाइयो भने कृतिका भूमिका लेखिदिने साहित्यकार विरेन्द्र अब्जसलाई पनि यस अवसरमा स्मृति चिन्ह दिएर सम्मान जनाइयो। साहित्यकार योगेश मुक्सुले सञ्चालन गरेको उक्त विमोचन कार्यक्रममा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, गोरूबथान, जलढाका, सिक्किमलगायत सिलगढी क्षेत्रका साहित्य अनुरागीहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।
siliguritimes/india







